सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित


टुरिजम पाना काठमाडौं । २४ फाल्गुन २०७९

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामासहित सगरमाथा आरोही नायिका निशा अधिकारी, नेत्री विना मगर लगायत रहेका छन् ।

सम्मानित महिला आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कदरपत्रद्वारा सम्मान गरिन् ।

उक्त अवसरमा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै पनि क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गरिन । यस किसिमको कार्यक्रमले दिवसको औपचारिकता मनाउने मात्र नभई महिलाहरुको साहसिक क्षमता र प्रतिभाको उजागरमा समेत मद्दत पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका प्रमुख सल्लाहकार आङ्छिरिङ शेर्पाले पर्वतारोहण संवेदनशील विषय भएकाले सम्पूर्ण आरोहीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्था हुनुपर्ने बताए ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको भन्दै उनीहरुको सम्मान र प्रोत्साहनमा राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

ट्रेकिङ एजेन्सी एसासिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने महिला आरोहीको प्रोत्साहन र उनीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए ।

२४ फाल्गुन २०७९