लुभ्र होटल्स ग्रुपअन्तर्गतको अग्रणी होटल व्यवस्थापन कम्पनी सारोवर होटल्सले रोयल ट्युलिप काठमाडौं सञ्चालनमा ल्याएको छ ।
ललितपुरको ग्वार्कोमा अवस्थित यो होटल नेपालकै सबैभन्दा ठूलो र काठमाडौंकै सबैभन्दा ठूलो सम्मेलन स्थल सहितको रहेको दाबी गरिएको छ ।
द मासिफ होटल प्रालिद्वारा विकास गरिएको यो ऐतिहासिक परियोजनाले अन्तरराष्ट्रियस्तरमा मान्यता प्राप्त रोयल ट्युलिप ब्रान्डलाई काठमाडौंमा भित्र्याइएको बताइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र साढे ३ किलोमिटर टाढा रहेको यो होटलका ३०८ कोठा तथा सुइटहरू रहेको बताइएको छ । यो होटलले आधुनिक आवास, उत्कृष्ट सुविधा र सहज अतिथि अनुभव प्रदान गर्ने होटलको भनाइ छ ।
होटलमा ३० हजार वर्गफुटभन्दा बढीको बहुउद्देश्यीय कार्यक्रमस्थलमा करीब ११ हजार वर्गफुटका दुईओटा भव्य बैंक्वेट हल, ६ ओटा अतिरिक्त बैठक कोठा, ब्रेकआउट क्षेत्र र ८०० वर्गफुटको बोर्डरूमदेखि विशाल बलरूमसम्मका सुविधाहरू रहेको बताइएको छ । साथै ६०० गाडी अट्ने पार्किङ क्षमतासमेत रहेको यो होटल अन्तरराष्ट्रिय सम्मेलन, कूटनीतिक कार्यक्रम, डेस्टिनेशन वेडिङ, प्रदर्शनी तथा ठूला कर्पोरेट कार्यक्रम आयोजना गर्न उपयुक्त रहेको बताइएको
छ।
होटलले प्रारम्भिक चरणमा १०४ कोठासहित सञ्चालन प्रारम्भ गरेको बताइएको छ र ‘ललितपुर क्याफे’ तथा ‘द अल्पाइन लाउन्ज एण्ड बार’ गरी दुई उत्कृष्ट रेस्टुराँ पनि सञ्चालनमा ल्याइएको छ ।