नवलपुरको मध्यविन्दु-१२ मा एउटा पोथी गैंडा मृत फेला परेको छ।
अन्दाजी तीन/चार वर्षको पोथी गैंडा अरुणखोला दोभानमा सोमबार मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन् ।
उनका अनुसार, उक्त गैंडा जङ्गलमा अर्को गैंडासँग जुध्दा घाइते भएको थियो। त्यही चोटका कारण गैंडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उक्त गैंडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ। योसँगै चालु आर्थिक वर्षमा मृत्यु भएका गैंडाको सङ्ख्या सात पुगेको सूचना अधिकारी मगरले जानकारी दिए।
सूचना अधिकारी थापामगरका अनुसार, सातमध्ये छ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा रहेका छन्। तीमध्ये नवलपुर क्षेत्र अर्थात् पश्चिम सेक्टरमा ४५० भन्दा बढी गैंडा रहेका छन् ।