बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ । मनसुनको मौसम सकिएपछि निकुञ्ज कार्यालयले कात्तिकबाट जङ्गल सफारी खुला गरेको हो । मनसुन अवधिभर निकुञ्जमा सफारी बन्द गरिएको थियो । चाडपर्वका बेला धेरै नेपाली परिवारसँग घुमफिर गर्ने भएकाले सफारीका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।
‘कात्तिक २ गतेबाट निकुञ्ज खोलिएको छ,’ ऐर भन्छन् ‘अहिले बढीजसो नेपाली नै घुमघामका लागि आइरहेका छन् ।’ शुक्लाफाँटा निकुञ्ज क्षेत्रमै यस वर्ष सबैभन्दा बढी वर्षा भएको थियो । त्यति बेलाको वर्षाका कारण आएको बाढीले निकुञ्ज क्षेत्रभित्र रहेका पुलपुलेसा र बाटा बिगारेको छ । कतिपय पुलहरू मर्मत गर्नुपर्ने अवस्थामा रहेतापनि निकुञ्जको फाँटासम्म पुग्ने बाटो भने ठिक रहेको र त्यहाँसम्म पर्यटक पुगिरहेको ऐरले बताए ।
निकुञ्जको तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा चार हजार १६८ पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये १३६ विदेशी, ९९ जना सार्क राष्ट्रका र तीन हजार ९३३ जना नेपाली रहेका छन् । कात्तिक, मङ्सिरमा बढी नेपाली पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । विदेशी पर्यटक आउने मौसम भने फागुन, चैत महिना रहेको छ ।
३०५ वर्ग किलोमिटरमा फैलिएको उक्त निकुञ्जमा दुर्लभ पाटेबाघ, एकसिङ्गे गैंडासहित ५६ प्रजातिका स्तनधारी जीव, ४६१ प्रजातिका चरा, ५६ प्रजातिका घस्रने जीव पाइने गरेका छन् । यसै गरी ५३ प्रजातिका माछा, १५ प्रजातिका उभयचर, १११ प्रजातिका पुतली पाइने गरेको जनाइएको छ । निकुञ्जमा पाइने कुल ५६ प्रजातिका स्तनधारीमध्ये १७ प्रजाति विश्वव्यापी रूपमा खतरामा रहेका, २३ प्रजाति राष्ट्रियस्तरमा खतरामा रहेका र तीन प्रजाति लोपको संघारमा पुगेका निकुञ्ज कार्यालयले जानकारी दिएको छ । निकुञ्जमा पाइने १० प्रजातिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । स्राेत: गाेरखापत्र