पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस-कन्ट्री दौड प्रतियोगिताको तेस्रो संस्करण आगामी कात्तिक २४ गते आयोजना हुने भएको छ।
आयोजक हिमालयन टुरिजम फोरमले विज्ञप्ती मार्फत प्रतियोगिताबारे जानकारी गराएको हो। कार्तिक २४ गते बिहान साढे ८ बजे खेलको उद्घाटन हुने प्रतियोगिताका मिडिया संयोजक प्रतिकराज पहारीले बताए।
दौड, साइकलिङ र बोटिङसहित ५० किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा चार विधा रहने आयोजकले जनाएको छ । जसअनुसार टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह रहेका छन्।
पहिलो समूहमा प्रथम हुनेका लागि ४ लाख ५८ हजार ४ सय रुपैयाँ पुरस्कार तोकिएको छ। यस्तै दोस्रो हुनेका लागि ३ लाख ४३ हजार ८ सय र तेस्रो हुनेका लागि २ लाख २९ हजार २ सय राशी पुरस्कार तोकिएको पहारीले बताए।
यसैगरी च्यालेन्ज समूहमा प्रथमका लागि १ लाख ५२ हजार ८ सय , दोस्रोका लागि १ लाख १४ हजार ६ सय र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय प्रदान गरिने आयोजकले जनाएको छ। विद्यार्थी दौडमा प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ।
चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार र पोखरा महानगर समेत प्रतियोगिताको आयोजक रहेको हिमालयन टुरिजम फोरमले जनाएको छ।