प्याराग्लाइडिङ उडानअघि पाइलटको मापसे-लापसे चेक अनिवार्य, सोलो उडान खुला गरिंदै


टुरिजम पाना संवाददाता काठमाडौं । २६ जेष्ठ २०८२
pokhara paragliding
फाइल तस्वीर

नेपालमा अब प्याराग्लाइडिङ उडान अघि पाइलटका लागि मादक र लागूपदार्थ सेवन परीक्षण अनिवार्य हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले तयार पारिरहेको नयाँ कार्यविधिअनुसार, पाइलटले उडान अघि आफू मापसे वा लापसे अवस्थामा नरहेको पुष्टि गर्नुपर्नेछ।

यसअघि हवाईजहाज पाइलटका लागि मात्रै लागू रहेको यो प्रावधान अब प्याराग्लाइडिङ पाइलटमा पनि विस्तार हुँदैछ। प्राधिकरणले आकाशमा उडान गर्ने सबैलाई समान सुरक्षाको दृष्टिकोणले नियमन गर्न लागेको जनाएको छ।

त्यस्तै, पाइलटका लागि गरिने नियमित स्वास्थ्य परीक्षणको अवधि पनि अब छोट्याइएको छ। ४० वर्षमुनिका पाइलटका लागि पाँच वर्षमा एकपटक मात्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था थियो। अब भने हरेक वर्ष परीक्षण गर्नुपर्नेछ, जसले पाइलटको शारीरिक र मानसिक अवस्था नियमन गर्न मद्दत पुर्‍याउनेछ।

यस अतिरिक्त, प्याराग्लाइडिङमा प्रयोग हुने ग्लाइडर (मुख्य उड्ने कपडा) पनि हरेक ६ महिनामा अनिवार्य परीक्षण गराउनुपर्नेछ। परीक्षणको प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा बुझाउनुपर्नेछ, र त्यसकै आधारमा ग्लाइडरको प्रयोग अनुमति नवीकरण गरिनेछ।

केही वर्षयता भएको दुर्घटनाहरूका कारण प्राधिकरणमाथि आलोचना भइरहेको थियो। विशेषतः २०७९ सालमा खेलकुद प्रतियोगिताको क्रममा भएको एक मृत्युपछि नियमनको आवश्यकता अझै तीव्र भएको थियो। अहिले देशभर करिब ३०० बढी पाइलटमध्ये करिब दुई सय मात्र सक्रिय छन्, जसमा केही विदेशी पाइलट पनि समावेश छन्। अब सबैलाई नियमको दायरामा ल्याइनेछ।

प्राधिकरणले जिल्ला प्रशासनमार्फत परीक्षण र रिपोर्टिङ प्रणाली अनुगमन गर्न लागिरहेको छ। यदि तय मापदण्ड पालना नगरेको भेटिएमा कारबाही प्रक्रिया अघि बढाइनेछ।

यस्तै, हाल रोकिएको ‘सोलो उडान’ (एकल पाइलट उडान) पनि आगामी आर्थिक वर्षबाट सुरक्षाका स्पष्ट मापदण्डसहित पुनः सुरु गरिने तयारीमा छ। यसले प्रतियोगितात्मक गतिविधिहरूलाई पुनः सञ्चालनमा ल्याउने मार्ग खुलाउने प्राधिकरणको योजना छ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले पनि प्रहरीसँग समन्वयमा मापसे र लापसेको छड्के जाँच गरिरहेको बताएका छन्। हाल सुरक्षा र अनुशासनमा सुधार देखिएको बताएका छन्।

सुरक्षा कारण देखाउँदै सोलो उडान अस्थायी रूपमा रोकिएको छ, जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता कार्यक्रमहरू प्रभावित भएका छन्। अध्यक्ष के.सी.का अनुसार रोकिएको सोलो उडानलाई चाँडै पुनः सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ।

“अब तत्काल फाइल प्रक्रिया अघि बढाएर सोलो उडान सुचारु गरिन्छ,” उनले भने, “र जोखिमरहित विधि र प्रविधिका साथ प्याराग्लाइडिङ सञ्चालन गर्न दीर्घकालीन योजना बनाइँदैछ।”

प्याराग्लाइडिङ नेपालको एक प्रमुख साहसिक पर्यटन गतिविधि हो, जसमा देश-विदेशका पर्यटकको आकर्षण बढ्दो छ। सुरक्षा र व्यावसायिक मापदण्डमा सुधार ल्याउने उद्देश्यले लिइएका यस्ता कदमले नेपाली हवाई खेलकुदको स्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।

२६ जेष्ठ २०८२