आन्तरिक पर्यटन प्रवर्द्धन गर्न घोराहीमा ग्रीन पार्क निर्माण


टुरिजम पाना संवाददाता दाङ । २६ जेष्ठ २०८२

घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अम्बिकेश्वरी ग्रीन पार्क निर्माण गरिएको छ । व्यावसायिक रूपमा निर्मित पार्कमा आकर्षक ताल, कृत्रिम झरना, विश्रामस्थल, पार्टी प्यालेसलगायत संरचना रहेका छन् । पार्क स्थानीय ३९ वर्षीय विकास बुढाथोकीले सञ्चालनमा ल्याएका हुन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बालबालिका, ज्येष्ठ नागरिक, युवा, विद्यार्थी सबैलाई लक्षित गरी पार्क निर्माण गरिएको उनले बताए । गाउँघरमा उद्यम गर्न सकिने भन्दै ५ करोड लगानीमा पार्क निर्माण गरेको बुढाथोकीले जानकारी दिए ।

“स्थानीयस्तरमा स्वरोजगारमूलक काम गरी आयआर्जन गर्न सकिन्छ भन्ने सोचका साथ करिब ९ वर्षसम्म शिक्षण पेसामा आबद्ध भएँ”, उनले भने, “अहिले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याएको हुँ । यहाँ अझै केही संरचना बनाउन बाँकी छ, अधिकांश भने बनिसकेका छन् ।”

गत वैशाख १७ गतेदेखि सञ्चालनमा आएको पार्कमा दैनिक १ हजार बढी नागरिक पुग्ने गरेका बुढाथोकीले जानकारी दिए । जिल्लाको घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका भन्दै उनले यसको प्रचारप्रसार गर्न सके अन्य जिल्लाका साथै छिमेकी मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे ।

पार्कमा बालबालिकाका लागि स्वीमिङ, बोटिङ, रुखमाथि क्याफेलगायत संरचना निमार्णको अन्तिम चरणमा पुगेका बुढाथोकीले उल्लेख गरे । “यहाँ सबै उमेर समूहका लागि संरचना तयार गरिएको छ । करिब २० फिट उचाइको छहराबाट पानी बग्ने झरनासमेत बनाइएको छ । पार्क स्थापनाको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु हो”, उनले भने ।

पार्कको प्रचारप्रसारमा स्थानीय सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिँदै यसले जिल्लाको पर्यटन विकास सहयोग पु¥याउनुका साथै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गरे । उनका अनुसार पार्कमा प्रवेशका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

सञ्चालक बुढाथोकीले निजी लगानीमा दाङसहित आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित पार्कमा लगानी थपेर केही संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । “अघिपछिको तुलनामा भन्दा बिदाको दिनमा करिब १ हजार २०० आन्तरिक पर्यटक यहाँ आउँछन् । पार्क नजिककै धार्मिक तथा पर्यटकीयस्थल अम्बिकेश्वरी मन्दिर रहेकाले पनि आन्तरिक पर्यटकको आगमन बढेको हो”, उनले भने ।

घोराही उपमहानगरपालिका–१५ की सरिता केसीले पार्कमा निर्मित संरचना बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैलाई आकर्षित गर्ने किसिमका रहेका बताइन् । उनले छोराछोरीलाई पार्क अवलोकनका लागि लिएर आएको भन्दै पार्कका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखिन् ।

स्थानीय नागरिकले सञ्चालनमा ल्याएको पार्कले यहाँको व्यवसाय र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै आयआर्जन र रोजगारीका अवसर सृजना हुने केसीले विश्वास व्यक्त गरिन् । उनले स्थानीय सरकारले पार्कको प्रचारप्रसारमा सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । उक्त ग्रीण पार्क करिब एक बिघा क्षेत्रफलमा फैलिएको छ ।

२६ जेष्ठ २०८२