धार्मिक र पर्यटकीयस्थल साप्सुधाप प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ । पूर्वको प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको यो स्थान प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको हो ।
यहाँ दर्शन गरे चिताएको पुग्ने जनविश्वास रहेकाले विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । यहाँ दर्शनका लागि भोजपुर, खोटाङ, धनकुटा, सोलुखुम्बु, विराटनगर, काठमाडौंलगायत ठाउँबाट मानिस आउने गरेको स्थानीयवासीको भनाइ छ ।
भोजपुरको चखेवा भञ्याङबाट करिब १० किलोमिटर टाढा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने यो मन्दिरमा दर्शन गरे चिताएको पुग्ने स्थानीयवासी रुद्रबहादुर कठायतले बताए । यहाँ प्रत्येक वर्षको जनैपूर्णिमामा मेला लाग्ने गरेको छ ।
मानिसले गरेको कामको सफलताका लागि साप्सुधापको भाकल गर्ने गरेको र सन्तान नभएका दम्पतीहरूको सन्तान पनि प्राप्त हुने विश्वास गरिन्छ । धापसम्म पुग्न नसक्ने मानिस साप्सुखोला तथा अन्य ठाउँबाट साप्सुधापतिर फर्केर पूजा आराधना गर्ने चलन रहेको कठायतले जानकारी दिए ।
यहाँ पञ्चकन्या, साप्सु जयपति, जलसिकारी, शिद्ध सिकारीलगायतको पूजा गरिने अर्का स्थानीयवासी सन्तोष कठायतले जानकारी दिए । पूजा गर्ने ठाउँको संरक्षणका लागि काम भइरहेको छ ।
यो देवस्थलको विकासका लागि दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाको करिब एक करोड बराबरको लागतमा विभिन्न संरचना बनेका छन् । यहाँ मन्दिर निर्माणसँगै आवश्यक घेराबारा तथा चारवटा द्वारसमेत निर्माण गरिएको छ । भक्तजनको सुविधाका लागि पाटीपौवा तथा शौचालय निर्माण गरिएको छ ।
पेलुङ बजारबाट २७ किलोमिटर कच्ची सडक पार गरेपछि त्यहाँ पुग्न सकिन्छ । कच्ची सडक खनिए पनि मर्मतसम्भार नहुँदा भक्तजनलाई आवतजावतमा केही समस्या रहेको अर्का स्थानीयवासी राजकुमार कठायतले बताए । यात्रुलाई सहज गराउन सडक विस्तारसँगै आवश्यक प्रचार-प्रसार गर्न सके पूर्वको महत्वपूर्ण धार्मिकस्थलका रूपमा यो स्थल स्थापित हुने उनको जिकिर थियो ।
मन्दिर निर्माण, घेराबारा तथा आवतजावतका लागि बाटोसमेत निर्माण गरिएपछि केही सहज भएको स्थानीयवासीको भनाइ छ । यसलाई अझ प्रचार गर्न सके पूर्वको एक प्रसिद्ध स्थानका रूपमा स्थापित हुने स्थानीयवासी खम्बजित राईले बताए ।
धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको थप संरक्षणसँगै प्रचार-प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनको आगमन बढ्ने स्थानीयवासी लोकबहादुर कटुवालले बताए । प्रचार तथा विकासमा स्थानीय तहसँगै राज्यलेसमेत ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।