फेरि थपियो नागढुङ्गा सुरुङमार्ग निर्माणको म्याद, कहिले सकिएला ?


टुरिजम पाना काठमाडौं । २३ माघ २०७९

तोकिएको अवधिमा काम नसकिएपछि नागढुंगा सुरुङमार्ग सम्पन्न हुने समय थप लम्बिएको छ । काम नसकिएपछि सुरुङमार्ग निर्माण गर्न २५ अप्रिल २०२४ सम्मका लागि म्याद थप गरिएको आयोजनाका सहायक प्रमुख माधव अधिकारीले टुरिजम पानालाई जानकारी दिए ।

धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति हालसम्म ४७.९० प्रतिशतमात्रै भएको छ । २०७६ कात्तिक २८ गतेदेखि निर्माण थालिएको सुरुङमार्गको निर्माण सन् २०२३ भित्रै सक्ने गरि सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सम्झौता भएको थियो ।

आयोजना समयमै नसकिनुमा कोभिड महामारीलाई मुख्य कारण बनाइएको छ । कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो । त्यसपछि आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो ।

म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो । यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो । सुरूङ निर्माण मात्रै भने आगामी असारसम्म सक्ने तयारी आयोजनाको छ ।

आयोजनाको मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ । हाल यस सुरूङको पूर्व (काठमाडौं) तर्फ ८५१.२० मिटर र पश्चिम (नागढुंगा) तर्फबाट ९३१.६० मिटर गरेर जम्मा १७८२.८० मिटर खनिसकिएको छ । सुरूङको मात्र भौतिक प्रगति ७३.३० प्रतिशत भएको आयोजनाको भनाइ छ ।

त्यस्तै ‘इभ्याकुएसन’ सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ । यसको दुई हजार ४६.२० मिटर सुरूङ खनिएको छ । त्यसमा एक हजार ९८.६० मिटर र पश्चिमबाट नौ सय ४७.६० मिटर सुरूङ खनिएको छ ।

आयोजनाका अनुसार, तीन वटै अन्डरपास निर्माण भइसकेको छ । त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ । एउटा ओभरपास पनि निर्माण भइसकेको छ । तीन वटै पुल निर्माण सकिएका छन् भने एउटा फ्लाइओभर निर्माणको काम ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

कुल १२८ मिटर लम्बाइ रहेको क्रस–प्यासेजको ७४. २० मिटर निर्माण भएको छ । नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो । जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ ।

सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी निर्माण संस्था हाज्मा आङ्द्रो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सम्झौतापश्चात २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १ स्थित टोटेपाखा पुगेर सुरुङमार्गको शिलान्यास गरेका थिए ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबीसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विश्वास गरिएको छ । आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुनेछ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् ।

एउटा गाडी बिग्रँदा पनि दुबैतर्फ गाडी चल्न सक्ने गरी सुरुङको निर्माण भएको छ । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वारसमेत छन् ।

२३ माघ २०७९