रघुवीर महासेठले भने- हवाइ टिकट दर महँगो भयो


टुरिजम पाना संवाददाता काठमाडौं । ८ असार २०८२

नेकपा (एमाले) का सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महँगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् ।

आइतबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। उनले नेपालीहरूले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपियाँ इकोनोमिक क्लासका लागि तिर्नुपर्ने बाध्यता दु:खद् भएको बताए । उनले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताए । यस्ता कुराहरूको ब्रेक उड्डयनमन्त्रालयले गर्नुपर्ने उनको भनाइ छ । नेपाल-भारत हवाई यात्रा बढाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो एयरलाइन्सबाट धेरै कम हामी इन्डिया रुटमा प्रवेश गर्छौं । एउटा सामान्य नेपालीले दिल्ली जानलाई ६० हजार रुपियाँ, ८० हजार रुपियाँ एक इकोनोमिक क्लासमा तिर्नु भनेको त यो दु:खद् कुरा हो । यसलाई कसरी हामी नियन्त्रण गर्दछौँ ? अर्को कुरा ४० हजारमा एक साइडको टिकट लिनुस्’ ३० हजारमा एक साइडको टिकट लिनुपर्छ । अब कुन सिट रोज्ने ? अगाडिको सिटलाई पाँच हजार रुपियाँ छुट्टै तिर्नुपर्छ । यस्तो अरू देशमा त देख्दैनौँ । त्यो चिज ब्रेक गर्ने काम हाम्रो मन्त्रालयले गर्नुपर्छ । हाम्रो एयरलाइन्स कम होलान्, तर मात्रा बढाऔँ ।’

समितिको बैठकमा आइतबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल भएको छ ।

८ असार २०८२