पर्यटक सूचना केन्द्रका लागि अन्नपूर्ण गाउँपालिकाले भवन निर्माण गर्ने


टुरिजम पाना कास्की । २७ मंसिर २०७९

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ स्थित विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र स्थापना का लागि भवन निर्माण गर्ने भएको छ ।

गाउँपालिका भित्रिने पर्यटकहरुलाई सहि सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तब्य र गतिबिधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवर्धन गर्ने, पर्यटकहरुलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एबम संस्कृति सहित पर्यटन सम्बन्धि सम्पूर्ण सूचना प्रदान गर्ने उद्देश्यले एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

सोमबार गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी. ले पर्यटन सूचना केन्द्रको भवन शिलान्यास गरे । करिब ५० लाखमा निर्माण हुने भवन आगामी ०८० को असारमसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । भवन निर्माणका लागि गाउँपालिकाले गठन गरेको भवन निर्माण समितिले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ ।

उनका अनुसार अहिले पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिने र क्रमवद्व रुपले सूचना केन्द्रको काम अगाडि वढाउने उनले बताए । पर्यटन प्रवर्धन र पर्यटकहरुलाई सहि सूचना प्रदान गर्न एकीकृत पर्यटन सूचना पोर्टल समेत निर्माण भईरहेको गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिकामा विश्वकै प्रख्यात पर्यटकीय गन्तब्य अन्नपूर्ण आधार शिबिर, घान्द्रुक, लान्द्रुक, घोरेपानी, अस्ट्रेलियन क्याम्प, पोथाना, भदौरे लगायतका गन्तब्य पर्दछन् ।

२७ मंसिर २०७९