प्रकृति प्रेमीको नयाँ गन्तव्य ‘बगैँचा एड्भेन्चर रिसोर्ट’

नेपालकै पहिलो र्‍याम्ड अर्थ प्रविधिको जंगल रिसोर्ट


सोनी शाही काठमाडाैं । १२ कार्तिक २०८१
बगैँचा एड्भेन्चर रिसोर्ट

नारायणघाटबाट पश्चिमतर्फ १४ किलोमिटरको दूरीमा पर्छ नवलपुरको हर्कपुर चोक । त्यही चोकबाट ४ सय मिटर भित्र छ, बगैँचा एड्भेन्चर रिसोर्ट । घना जंगल, साढे तीन दशक पुराना ९ सय भन्दाबढी रुख र चारैतिर प्राकृतिक हरियाली लगाायतका मनमोहक दृष्यले जो कोहीलाई पनि मोहित बनाउँछ । ‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी निर्माण गरिएको ‘बगैँचा एड्भेन्चर रिसोर्ट’ पछिल्लो समय प्रकृति प्रेमीहरूको नयाँ र आकर्षक गन्तव्य नै बनेको छ ।
साढे दुई विघा क्षेत्रफलमा फैलिएको रिसोर्ट प्रवेश गर्नुअघि बाँसले बनेको प्रवेशद्वार र सजिएका ‘ह्यान्डमेड’ सामाग्रीले पृथ्वीको फरक र नौलो भुमिममा पुगेको अनुभव हुन्छ । रिसोर्ट प्रवेश गरेलगत्तै काठका कटेज, वरिपरीका ठूल्ठूला रुखमा अनेकथरी चरा, हिँड्ने बाटोमा ग्राभेल र ढुंगा ओछ्याइएको दृष्यले साँच्चै नै रिसोर्टको नामलाई थप अर्थपुर्ण बनाएको छ ।
करिब एक वर्षअघि मात्रै सञ्चालनमा आएको रिसोर्ट निर्माणका भने ९ वर्ष लागेको सञ्चालक सन्तोष धिताल बताउँछन् । ‘म यो व्यवसायमा नयाँ छु । विगतमा पशुपालन क्षेत्रमा काम गरेपनि प्रकृतिसँग मेरो छुट्टै लगाव छ । त्यसैका कारण नामले मात्र प्रकृतिसँग जोडिएको नभई साँच्चै नै प्राकृतिक सौन्दर्यसँगको लाइभ एक्सपेरियन्स दिने र ग्रिन टेक्नोलोजीयुक्त बगैँचा एड्भेन्चर रिसोर्ट निर्माण गरेको हुँ,’ उनी भन्छन्, ‘यो नेपालकै पहिलो र्‍याम्ड अर्थ प्रविधि प्रयोग गरि बनाइएको रिसोर्ट हो ।’
बगैँचा एड्भेन्चर रिसोर्टले दिगो पर्यटन र कृषि क्षेत्रमा सहयोग गर्ने सञ्चालक धिताल बताउँछन् । रिसोर्टमा पाक्ने हरेक खानाका लागि अर्गानिक सागसब्जीका साथै धानसमेत आफै उत्पादन गर्ने गरेको उनी बताउँछन् । अर्गानिक खानाले ग्राहक एवं पाहुनाहरू पूर्णरूपमा सन्तुष्ट हुने गरेको उनको अनुभव छ । रिसोर्टमा प्रयोग गरिएका एवं सजावटका लागि राखिएका सामग्री समेत गाँजा तथा सिस्नुबाट हातैले बनाइएको उनले बताए । ‘हामीले हरेक कोठा रूखका खपटाले छाएका छौँ । कुनै पनि टायल वा मार्बलको प्रयोग गरेका छैनौं । खाटमा गाँजाको तन्ना आछ्याएका छौँ भने सिस्नु र रुद्राक्षबाट बनेका पर्दाहरू राखेका छौँ,’ उनले भने ।

रिसोर्ट सञ्चालक सन्तोष धिताल

रिसोर्ट परिसरमा चराचुरुंगीका लागि विशेष रुखहरू रोपिएका छन् । ती रूखको फल नटिपी छाड्ने गरिएकाले चराचुरुंगीको आगमनसमेत बढेको धिताल बताउँछन् । ‘हामीले रोपेका रुखमा बस्न र फल खान चराहरू आउने गरेका छन् । यो वर्ष मात्र ९३ प्रकारका चराचुरुंगी आएको हामीसँग तथ्यांक छ । यसले हाम्रो रिसोर्टको सौन्दर्यलाई थप बढाएको छ,’ उनी भन्छन् ।
रिसोर्टमा विभिन्न प्याकेज अन्तर्गत काईट हाउस (लक्जरी डिलक्स), कार्ट हाउस (सुपर डिलक्स) र खडाइ (लोकल डिलक्स) गरी तीन प्रकारका कोठा छन् । पूर्णरूपमा ‘र्‍याम्ड अर्थ’ प्रविधिमा बनाइएका काईट हाउस १० वटा छन् । गाढाको डिजाइनमा काठैकाठले बनाइएका कार्ट हाउस पाँच वटा छन् भने र्‍याम्ड अर्थ प्रविधिबाटै बनेको ४ वटा खडाइ छन् । खरको मोटो डाँठ काटेर टाँसेर बनाइएको छ । त्यस्त्रै रिसोर्टमा काठबाट बनाइएको एउटा ‘उडन स्विट’ छ ।
कुल २० कोठाहरूमा एक पटकमा ४० देखि ५० जनासम्म बस्न सक्ने धितालले बताए । उनका अनुसार रिसोर्टमा ५ सय जनासम्म अट्ने हलसमेत छ । एड्भेन्चरतर्फ गोरुगाढामा नारायणी नदी परिसरको भ्रमण, सुर्योदय र सुर्यास्थको दृष्यावलोकन, नारायणी नदीमा डुंगा चलाउने, चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी लगायतको व्यवस्था गरिएको छ ।
रिसोर्टको कार्ट हाउस (गाढाको घर) मा बस्नका लागि प्रतिदिन दुई जनाका लागि बेड एण्ड ब्रेकफास्टसहित ८ हजार शुल्क तोकिएको छ । हाल दशैँ अफर अन्तर्गत ५ हजारमा उक्त सेवा दिइएको छ । दशैँ अफर छठसम्मका लागि मान्य हुने सञ्चालक धितालले जानकारी दिए ।यस्तै दुई रात तीन दिनको प्याकेज अन्तर्गत विदेशीहरूका लागि प्रतिव्यक्ति २ सय ६० डलर तोकिएको छ । ‘एक वर्षको अन्तरालमा नेपालका साथै अस्ट्रेलिया, अमेरिकाका साथै युरोपेली देशबाट विदेशी पर्यटकहरू आइरहेका छन् । हाम्रा लक्षित ग्राहक भनेकै प्रकृति प्रेमीहरू हुन् । अबको सिजनमा अझ बढी पर्यटकहरू आउने आशा राखेका छौँ,’ धितालले भने ।
ग्राहकहरूले रिसोर्टको वेवसाइट  वा पेजमार्फत सम्पूर्ण जानकारी लिन तथा बुकिङ गर्न सक्ने उनले बताए । रिसोर्ट निर्माणमा २८ करोडभन्दा बढी लगानी भइसकेको सञ्चालक धितालले जनाए । ‘र्‍याम्ड अर्थ’ प्रविधि अनुसार पर्खाल बनाउँदा नै सामान्य भन्दा साढे चार गुणा महँगो पर्ने उनको भनाइ छ । जग्गाबाहेक नै २८ करोडभन्दा बढी लगानी भइसकेको छ । रिसोर्टले रोजगारीका लागि स्थानीयलाई नै प्राथमिकता दिएको उनले बताए । ‘हाल रिसोर्टले प्रत्यक्ष रूपमा २१ जनालाई रोजगारी प्रदान गरेको छ भने हामीले अर्गानिक फार्मिङ र ह्यान्डमेड सामग्रीलाई प्राथमिकता दिएकाले अप्रत्यक्ष रूपमा धेरै जनाले काम पाउनुभएको छ,’ धितालले भने ।
र्‍याम्ड अर्थ’ कस्तो प्रविधि हो ?
‘र्‍याम्ड अर्थ’ कुनै पनि संरचना निर्माणका लागि प्रयोग हुने संसारकै सबैभन्दा पुरानो प्रविधि हो । यसअन्तर्गत फर्मा, माटो, चुना, ग्राभेल, बालुवा, पानी लगायतको मिश्रित घोलको प्रयोग गरेर पर्खाल निर्माण गरिन्छ । यस अन्तर्गत कुनै पनि संरचना बनाएपछि त्यसको आयु कम्तीमा हजार वर्ष हुन्छ । तीन हजार वर्षभन्दा माथि आयु भएका भवनहरू अझै पनि अस्तित्वमा छन् । जसको एक उदाहरण चीनको ‘ग्रेट वाल’ हो । नेपालमा पनि ‘र्‍याम्ड अर्थ’ प्रविधिबाट बनेका घर, विद्यालय, भवन तथा अस्पतालहरू छन् । तर रिसोर्ट भने यही एउटा मात्र भएको धिताल बताउँछन् ।
‘र्‍याम्ड अर्थ’ अनुसार संरचना बनाउँदा सुरुमा एक प्रकारको माटो, चुना, ग्राभेल, बालुवा, पानी लगायतको मिश्रणलाई फर्मामा ४ इन्चसम्म हालिन्छ । त्यसपछि उक्त मिश्रणलाई खाँदेर २ इन्चको बनाइन्छ । आवश्यकता अनुसार पर्खालको लम्बाइ निर्धारण गरि दुई÷दुई इन्च गर्दै थप्दै लगिन्छ । तह–तह गर्दै बनाउनुपर्ने भएकै कारण यसलाई धेरै समय लाग्ने धितालले बताए । ‘समय धेरै लागे पनि यसको मुख्य फइदा भनेको हजारौँ वर्षसम्म टिक्नुका साथै भूकम्प प्रतिरोधात्मक क्षमता निकै बढी हुन्छ,’ धिताल भन्छन् ‘यो प्रविधिबाट बनेका कोठाहरूमा एयरकन्डिसनको आवश्यकता हुँदैन । हाम्रा प्रिमियम कोठा नै एयरकन्डिसनयुक्त छैनन् । जुन ग्राहकका लागि नौलो अनुभव पनि हुन्छ ।’

वुडफायर पिज्जा

१२ कार्तिक २०८१