नेपाली माटोका गायक, गन्धर्वहरू


सुनिल उलक काठमाडौं । २४ फाल्गुन २०७९

गन्धर्वहरूको इतिहास वास्तवमा खोजिएको छैन । गन्धर्व यहीँका रैथाने हुन् वा राजस्थानबाट ११ औ शताव्दीमा नेपाल छिरेका हुन् यकिन भइसकेको छैन । तर १२औं शताव्दी पछिका खोजको आधारमा यिनीहरूको मुख्य बसोबास क्षेत्र भने लमजुङ र गोरखा वरपरको क्षेत्र नै हो ।

गन्धर्वहरू यहीँबाट बिस्तारै पश्चिम लागेको भेटिन्छ भने बिस्तारै पूर्व पनि पुगेको भेटिन्छ । तर पूर्व-पश्चिम पुग्दा पनि यिनीहरूको सारङ्गीको ताल र गीतको सुर भने क्रमश लम्बिएको भेटिन्छ ।

पोखरामा भने गन्धर्वको प्रवेश कास्कीका राजा सिद्धिनारायण शाहको पालामा १८औ शताव्दीमा भएको हो । कास्कीका राजा सिद्धिनारायण शाहले आफ्नो सुसुराली बाटुलेचौरमा हिउँदे दरवार बनाए पछि दरवारको मनोरञ्जनको लागि गन्धर्वहरूलाई लमजुङबाट ल्याएर बाटुलेचौरमा नै बसोबासको प्रबन्ध मिलाइ दिएका थिए ।

भनिन्छ, त्यतिबेलाका राजाहरूले यी गन्धर्वहरूलाई जासुसको रुपमा प्रयोग गर्दै अर्को राज्यमा पठाउँथे । सारङ्गी रेट्दै गीत गाउँदै त्यो राज्यको दरवारसम्म पुग्दथे । दरवारको जानकारी बटुली पुन: आफ्नो राजालाई वर्णन गर्न आइपुग्थे ।

पंक्तिकारसँग गन्धर्वहरूका गीतहरूको पुरानो संकलनहरू पनि छन् । विभिन्न सवाईहरू र कर्खाहरू सहितको संग्रहमा जङ्गबहादुरको सवाई, भोटको सवाई, जङ्गबहादुरको लखनउ कुच, चन्द्रशम्शेरको बेलायत यात्रा, २०१६ मंसिर २४ गते राजा महेन्द्रको पोखरा यात्राको कर्खा धेरै गीतहरू छन् ।

झलकमानका बुबा दुर्गा मिजार, गोकुल गाइने, मगर गाइने, झलकमान आदिले गाएका ६०-६५ वर्ष पुराना सारङ्गीका धुन र गीतहरू संग्रहमा छन् ।

२४ फाल्गुन २०७९