बुद्ध एयर सञ्चालकको लफडा: भाइ शिवेन्द्रको नाममा कुनै शेयर नभएको दावी


टुरिजम पाना संवाददाता काठमाडौं । २९ बैशाख २०८०

बुद्ध एयरले शिवेन्द्रबहादुर बस्नेतको नाममा कम्पनीमा कुनै पनि सेयर नरहेको बताएको छ । कम्पनीमा रहेको १४ प्रतिशत सेयर शिवेन्द्रले २०५६ सालमा बिक्री गरी कम्पनीबाट अलग भएको बुद्ध एयरले दाबी गरेको छ । बुद्ध एयरबाट अलग भएपछि शिवेन्द्रले ‘माउन्टेन एयर प्रालि’ खोलेको कम्पनीको दाबी छ ।

बुधबार शिवेन्द्रले पत्रकार सम्मेलन गर्दै आफ्नो ४० प्रतिशत सेयर रहेको बुद्ध एयरको हर हिसाब नदेखिई दाजु बीरेन्द्रबहादुर बस्नेतले एकलौटी गरेको आरोप लगाएका थिए । भाइ शिवेन्द्रले दाजु बिरेन्द्रमाथि लगाएको आरोपप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ ।

कम्पनीमा संस्थापक सेयरधनीको रुपमा स्व. सुरेन्द्रबहादुर बस्नेत र बीरेन्द्रबहादुर बस्नेत रहेको कम्पनीले जनाएको छ । कम्पनीमा पछि शिवेन्द्रले प्राप्त गरेका १४ प्रतिशत सेयर पनि २०५६ सालमा बिक्री गरी कम्पनीबाट बाहिरिएको बुद्ध एयरले बताएको छ ।

साविकमा बुद्ध एयर प्रालिको कार्यकारी अध्यक्ष स्व. सुरेन्द्रबहादुर बस्नेतको नाउँमा ८० प्रतिशत सेयर रहेको थियो । जसमध्ये ४० प्रतिशत सेयर बीरेन्द्रबहादुर बस्नेत र बाँकी ४० प्रतिशत सेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र पछि आदर्शबहादुर बस्नेत समेतको नाउँमा हुने गरी स्व. सुरेन्द्रबहादुर बस्नेतले ‘बकसपत्र’ गरिदिएको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।

२९ बैशाख २०८०