विगतका वर्षमा जस्तै यस वर्षको माघे सङ्क्रान्तिका दिन तनहुँको बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।
परम्पराको निरन्तरता, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक र ऐतिहासिक पर्वको संरक्षण गर्ने उद्देश्यले आयोजित गोरु जुधाइ प्रतियोगितामा नवीन गुरुङको गोरु प्रथम भएको छ भने सन्तोष गुरुङको गोरु दोस्रो भएको छ। यस वर्षको प्रतियोगितामा १० वटा गोरु सहभागी भएका थिए । गोरु जुधाइमा पहिलो हुने किसानले १५ हजार रुपैयाँ र दोस्रो हुनेले सात हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
विगतमा लामो समयसम्म जारी रहेको गोरु जुधाउने कार्यक्रम बीचमा केही समय रोकिए पनि पछिल्लो चार वर्षदेखि भने निरन्तर भइरहेको स्थानीय अमृत अधिकारीले जानकारी दिए ।
गोरु जुधाइ प्रतियोगितालाई भ्रमण वर्षकै पाटोका रूपमा लिइएको बन्दीपुर भ्रमण वर्ष सचिवालयका संयोजक बैश गुरुङले बताए । उनले बन्दीपुरमा पर्यटक आकर्षित गर्नका लागि यस प्रकारका कार्यक्रम सहयोगी बन्नेमा विश्वास व्यक्त गरे ।
गोरु जुधाइसँगै यस वर्ष महिला तथा पुरुष भलिबल प्रतियोगिता, कुर्सी खेल, डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता पनि आयोजना गरिएको आयोजक स्थानीय नारायण गोपाल युवा क्लबले जनाएको छ ।
भलिबल प्रतियोगिताको उपाधि गोरखकाली युवा क्लबले जितेको छ । हिमालय युवा क्लब ठिन उपविजेता बन्दा जुन तारा युवा क्लबले तेस्रो स्थानमा चित्त बुझाएको छ ।
त्यसै गरी महिला डोरी तान्ने प्रतियोगितामा डुम्रिगैरा आमा समूह प्रथम भएको छ भने जनजागृति आमा समूह द्वितीय भएको छ ।
घैँटो फुटाई प्रतियोगितामा बन्दीपुर हलथुम्काका जेठा गुरुङ विजयी भएका छन् ।
कार्यक्रम आयोजना गर्न बन्दीपुर गाउँपालिका र बन्दीपुर भ्रमण वर्ष, २०२५ सचिवालयले ७५ हजार रुपैयाँ सहयोग गरेको अधिकारीले जानकारी दिए ।
भ्रमण वर्ष २०२५ को दोस्रो कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रम, स्थानीय अर्ग्यानिक खाना खाजाका स्टलहरू, स्थानीय उत्पादन, खाद्यान्न, मास, पिँडालु, सिमल–तरुल, भटमास, मस्याङ, चामल, लोकल कुखुरालगायत बिक्रीका लागि स्टलहरू राखिएका थिए ।