बिवाइडीको ‘अटो ३’ नेपाली बजारमा सार्वजनिक


टुरिजम पाना काठमाडौं । ३० आश्विन २०७९
ATTO3 launch

चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ (बिवाइडी)ले नेपाली बजारमा ‘अटो ३’ सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरि उक्त मोडलको गाडी सार्वजनिक गरिएको हो ।

यसअघि भारतमा पनि सार्वजनिक भइसकेको यो गाडी नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले अटो ३ घरेलु बजारमा ल्याएको हो । ‘अटो ३’ लाई २ महिना अघि नै नेपालमा सार्वजनिक योजना भएपनि चिनियाँ नाका बन्द भएका कारण २ महिनापछि नेपालमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । पछिल्लो समय लोकप्रिय हुँदै आएको विद्युतीय गाडीको भिडमा ‘अटो ३’ ले सबैको मन जित्न सफल हुने विश्वास कम्पनीले लिइएको छ ।

उक्त कार्यक्रममा बोल्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ‘सबैको रोजाईमा विद्युतीय गाडी परिरहेको र सार्वजनिक गाडीलाई पनि विद्युतीय बनाएर इन्धन खपतमा न्यूनिकरण गर्न आवश्यक रहेको छ । आकर्षक फिचर र लक्जरीयस सुविधाका कारण विश्व बजारमा लोकप्रिय भएको अटो ३ नेपाली उपभोक्ताहरुको मन पनि छिटै जित्ने विश्वास लिएका छौँ ।’

Haribansa Acharya
अटो ३ का ब्राण्ड एम्बास्टरको रूपमा कलाकार हरिवंश आचार्य रहेका छन् । गाडी सार्वजनिक गर्दै विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन खरिदका नाममा विदेशमा जाने अर्बौ विदेशी मुद्रा सञ्चीतिमा ध्यान दिनु पर्ने उनले बताए । विद्युतीय गाडीको प्रयोगले इन्धन खपत घट्नुका साथै वातावरणमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले सबैले उपभोग गर्न समेत अनुरोध गरेका छन् । सरकारले पनि विद्युतीय गाडी प्रयोगमा बढाउनका लागि विषेश छुटको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

कम्पनीले नेपाल बजारमा अटो ३ को मूल्य करिब ८९ लाख ९० हजार तोेकेको छ । अटो ३ आइतबारदेखि नै नेपाली बजारमा गुड्नेछ । अटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ । बीवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार, अटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर गुड्न सक्छ । नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये अटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित हुनुका साथै एक्सिलेरेसन पावर पनि उत्कृष्ट रहेको छ । अटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गतिमा गुड्नसक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

ATTO 3

अटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । यसबाहेक डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस) सुविधा पनि उपलब्ध छन् ।

कम्पनीले यसअघि नेपाली बजारमा बिवाइडीको ‘ई ६’ कार ल्याइसकेको छ ।

३० आश्विन २०७९