पोखरामा बिवाइडीको साेरुम सञ्चालन, एटो ३ सार्वजनिक


टुरिजम पाना पाेखरा । ७ कार्तिक २०७९
byd electric car pokhara showroom

पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न सोरुम सञ्चालनमा आएको छ । सोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि सार्वजनिक गरिएकाे छ ।

सोरुमको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गरेका हुन् ।

बिवाइडीका लागि पोखराको आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सले विद्युतीय गाडी कार एटो ३ घरेलु बजारमा ल्याइएको हो । एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडान गरिएको छ ।

एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटरसम्म कुद्न सक्ने बताइएको छ । पाेखरामा यसअघि नै बिवाइडीकाे ६ वटा कार बिक्री भइसकेकाे छ । यसकाे मूल्य ८९ लाख ९० हजार राखेको छ ।

byd electric car atto 3 launch

चीनको विद्युतीय गाडी निर्माता बिल्ड योर ड्रिम्स (बिवाइडी) को एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ । गाडी सार्वजनिक भएकै दिन ४ वटा गाडी बुकिङ भएको कम्पनीका प्रबन्ध निर्देशक ओम उपाध्यायले जानकारी दिए ।

बिवाइडीका नेपालमा भएका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडान गरिएकाे छ । एटो ३ ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटरको प्रतिघन्टाको गतिमा कुद्न सक्ने भएकाले यसकाे एक्सिलेरेसन पावर अन्य गाडीकाे भन्दा उत्कृष्ट छ ।

यसमा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा पनि उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि एटाे ३ गाडीमा उपलब्ध छ ।

एटो ३ को थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइटजडित छन् ।

७ कार्तिक २०७९