गोदावरीमा बुधबार साइक्लोथोन हुने


टुरिजम पाना काठमाडाैं । ७ कार्तिक २०७९
godawari cyclothon

काठमाडौं । गोदावरी उद्योग वाणिज्य संघको आयोजनामा बुधबार साइक्लोथोन हुने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।

संघले समृद्ध गोदावरी निर्माण अभियानअन्तर्गत गोदावरी नगरभित्र रहेका सुन्दर, मनोरम, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक स्थलहरुको प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले साइक्लोथोनको आयोजना गरिएको संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिए ।

र्यालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त ३०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहनेछ । यसमा सुरक्षा बलका साइकल यात्री पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

साइकल यात्रा बुधबार बिहान ७: ३० बजे नगरपालिका प्राङ्गणबाट सुरु भएर ठेचो, चापागाउँ, चारघरे, इटाइटी, छम्पी, टोकलमाठ, डुकुछाप, दनुवार बस्ती, नेपाल आर्टभिलेज, बुरुन्चुली, देवीचौर, टिकाभैरव, लेले, बडिखेल, टौखेल, गोदावरी, विशङ्खुनारायण, गोदामचौर, मुक्तिनाथ मन्दिर, दमाईटार, ठैव, बाडेगाउँ, झरुवारासी हुँदै पुनः नगरपालिकामा पुगेर टुङ्गिनेछ ।

सहभागीलाई बिहान र दिवा खाजाको समेत व्यवस्था गरिएको छ, साथै सहभागीकाे दुर्घटनाबिमा गरिएको छ । र्‍यालीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी एवं रेडक्रसको आकस्मिक स्वास्थ्य टोली, पथप्रदर्शक र स्वयंसेवक रहने संघले जानकारी दिएको छ ।

गोदावरी क्षेत्र

गोदावरी क्षेत्र प्राकृतिक सौन्दर्य, चराचुरुङ्गीहरुको बासस्थानका कारण लोकप्रिय पर्यटकीय गन्तव्य हो  ।

गोदावरीमा पौराणिक गोदावरी कुण्ड, नौधारा, सरस्वती कुण्ड, ग्वालिन्दह, कटवाल दहका साथै मल्लकालिन मन्दिरहरु फुलचोकी, भगवान पाउ, ब्रम्हायणी, बालकुमारी, बज्रबाराही, सन्तानेश्वर, टिकाभैरव, जयलकुमारी, बालकुमारी, तिलेश्वर महादेव, कालेश्वरलगायतका मन्दिर रहेका छन् ।

परम्परागत, धार्मिक तथा साँस्कृतिक मेला पर्व, गोदावरी मेला, नवदुर्गा जात्रा, फुलचोकी मेला, सरस्वती कुण्ड मेला, टिकाभैरव, बज्रबाराही, कट्वाल दह लगायतका मेलाले गर्दा गोदावरी क्षेत्र धार्मिक र साँस्कृतिक महत्वपूर्ण मानिन्छ ।

७ कार्तिक २०७९