पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने


टुरिजम पाना संवाददाता काठमाडौं । २५ बैशाख २०८१

५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो ।

पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ

कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका  प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले  जानकारी दिए ।

यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागु गरिएको र बाँकी सहरहरूमा समय अनुकुल विस्तार गरिने बस्न्यातको भनाइ छ ।

पठाओले हालै काठमाडौँ उपत्यका र चितवनका साथै थप १८ सहरमा सेवा बिस्तार गरेको छ । कम्पनीले कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा सेवा उपलब्ध हुने जनाएको छ । साथै मधेस प्रदेशको वीरगञ्ज र जनकपुर, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा, कर्णालीको बिरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भैसकेको छ । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा पाँच हजारभन्दा बढी दर्ता भइसकेका छन् ।

पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ ।

२५ बैशाख २०८१