नरबहादुर टन्डन (एनबी) क्यानाडाको सडकमा ‘लरी’ ट्रक कुदाउँछन् । उच्च शिक्षा सकेपछि कलम समाउने सपना लिएर नेपाल छाडेका उनी कालान्तरमा लरीको स्टेरिङ समाउन पुगे । दाङबाट काठमाडौं हुँदै क्यानाडा ओर्लेको दुई दशकमा उनले जीवनका अनेकौं उकाली ओराली हिंडे । थुप्रै हन्डर–ठक्कर खाए । हातमुख जोर्न जस्तोसुकै काम गर्न पनि तयार भए । अनेकौं अपमान सहे ।
विदेशिनुको पीडा र जीवन भोगाइको वास्तविकता स्वदेशमा भन्दा विदेशमै पुगेर धेरै अनुभूत गरे । दाङको खान्द्रेस्थित जनश्रम माविबाट एसएलसी मात्र सकेका उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००५ मा उनी क्याडाना उत्रिएपछि जीवन केहो भन्ने बुझ्न थाले । परदेशमा जीवन कसरी चल्दोरहेछ भन्ने आँखै अगाडि देखे र भोगे ।
क्यानाडामा बसेर उच्च शिक्षा अध्ययन मात्र गर्छु भन्नु धेरै नेपालीको कथा मात्र हुन जान्छ । उनको पनि बेग्लै कथा छ । विश्वविद्यालयमा नितान्त पढाइ मात्र गर्छु भन्नु भ्रम मात्र रहेछ भन्ने उनले प्रत्यक्ष भोगे । कमाई नहुँदा पढाइ अघि बढाउन नसकेको पीडादायी कथा छ उनको । जहाँ पुगे पनि काम नगरी जीवन चल्दैन । जस्तोसुकै भए पनि काम गर्नैपर्छ । ‘तर यहाँ कामको सम्मान छ, श्रमको सम्मान हुन्छ,’ उनले भने, ‘म अहिले ट्रक ड्राइभर हुँ तर सबैबाट सम्मान र माया पाइरहेको छु ।’
क्यानाडामा ४० हजार बढी नेपाली बस्छन् । ती मध्येका एक अपवाद पात्र हुन नरबहादुर । उनले त्यहाँ बसेर काम मात्र गरेनन् । पैसा कमाएर जीवन मात्र चलाएनन् । मातृभूमी नेपालका लागि केही गर्ने अठोट लिए । बेग्लै अभियान चलाए । जसका कारण उनी एकाएक ‘सेलिब्रेटी’ बने । सामाजिक संजालमा उनको अभियानप्रति सयौं तारिफका शब्दहरु लेखिए । मानसम्मान र प्रशंसाका कारण उनको अभियानले झनै उचाइ लिइरहेको छ । नरबहादुरको अभियान बिल्कुलै नौलो छ । विश्वमा नेपाल चिनाउने काइदा भिन्न छ ।
उनले यो अभियान व्यक्तिगत लगानीमा सुरू गरेका हुन् । सन् २०१२ को जनवरी महिनादेखि उनले आफ्नो ट्रकमा नेपालको विविधता झल्कने तस्वीर टाँगेर हुँइकिरहेका छन् । क्यानाडाबाट अमेरिका गुड्ने २९ लाख ट्रकमध्ये नरबहादुरको ट्रक मात्र युनिक छ । ५३ फिट लामो र ८.५ फिट उचाई भएको ट्रकमा नेपाल र नेपालीको कला संस्कृती, भेषभुषा, पर्यटकीय स्थल तथा पुरातात्विक सम्पदाको आकर्षक तस्वीरसहितको फ्लेक्स टाँगिएको छ ।
‘विदेशमा बसेर नेपाल चिनाउने मेरो चाहाना हो, सस्तो तर सबैको नजर पर्ने भएकाले मैले यो काम गरेको हुँ,’ उनले भने, ‘अहिले धेरै विदेशीहरू मसँग नेपालका बारेमा सोध्न आउन थालेका छन्, कतिपय नेपाल घुमेर फर्किसकेका छन् ।’ नरबहादुर जस्ता १ सय २० बढी नेपाली ट्रक ड्राइभर क्यानाडामा छन् । तर अरु ट्रकमा विभिन्न ब्यवसायिक विज्ञापन टाँसिएको छ ।
उनको ट्रकको दुवै पट्टीको भागमा फेवाताल र माछापुच्छ्रे, एकसिंगे गैंडा, पाटेबाघ, नेपालको प्याराग्लाडिङ, ट्रेकिङ, र्याफ्टिङ, रक क्लाइम्बिङका आकर्षक तस्विरहरू टाँगिएका छन् । त्यसबाहेक जिवित देवी कुमारी, बौद्ध स्तुपा, पशुपतिनाथ लगायतका तस्वीरहरू पनि टाँसेर उनी दैनिक १२ घन्टा हुँइकिरहेका छन् ।
यही अभियानले उनी यतिबेला ‘सेलिब्रेटी ट्रक ड्राइभर’को रुपमा कहलिएका छन् । क्यानाडाको ओन्टरियो शहरमा बस्दै आएका उनलाई यो कामले मज्जाले आत्मसन्तुष्टि दिइरहेको छ । उमेरले ५० वर्ष पार गरेका नरबहादुर भन्छन्, ‘नेपालका तस्वीर देखेपछि धेरै मानिसहरूले बाटोमै ट्रक रोक्न लगाउँछन् र लाइन लागेर मेरो ट्रकमा तस्वीर खिच्छन्,’ उनले भने, ‘ नेपालको तस्वीर पृष्ठभूमिमा राखेर तस्वीर खिच्ने विदेशीहरूको क्रेज देख्दा रमाइलो लाग्छ ।’
नरबहादुरको यो काम देखेर पर्यटन मन्त्रालयले उनलाई तेस्रो पटक पर्यटन सद्भाव दूतका रूपमा जिम्मेवारी दिइसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि उनको कामको खुलेर प्रशंसा गर्दै हातेमालो गरिरहेको छ । अन्य मनकारी संघसंस्थाले पनि उनीसँग सहकार्य गर्ने गरेका छन् ।
क्यानाडा–अमेरिका गुड्ने यस्ता लरी ट्रकमा ठूला ब्यवसायिक कम्पनीहरू आफ्नो वस्तुको विज्ञापन गर्न हजारौं खर्च गर्न रूचाउँछन् । नरबहादुरले अन्य कम्पनीको विज्ञापन गर्न चाहेनन् । जतिसक्दो आफ्नै देशको प्रचार अभियानमा जुटे ।
‘हामीले हाँक्ने ट्रकको एकापट्टीको भाग ट्रेलर अर्को ट्याक्टर हुन्छ, ट्याक्टर व्यावसायीहरूले आफ्नो वस्तुको प्रचार गर्न रोज्ने गर्छन् तर मैले सुरूमा २५ हजार क्यानेडियन डलर खर्चेर नयाँ पाटपूर्जा जोडेर नेपालको प्रचार गर्न योग्य बनाएको हुँ, हालसम्म मेरो व्यक्तिगत लगभग एक करोड खर्च भइसकेको छ,’ उनले भने, ‘यो लगानी मेरो देशको लागि हो, मेरो माटोको लागि हो ।’
हुन त नरबहादुरसँग अरु पनि थुप्रै योजना र आइडियाहरू छन् । नेपालको प्रचार गर्ने र युरोप अमेरिकाबाट जतिसक्दो पर्यटक नेपाल पठाउने योजनाहरू उनीसँग छन् । ‘नेपाल सरकार, एनआरएनएलगायतका संस्थाले साथ दिए भने धेरै काम गर्ने सपना छ,’ उनले सुनाए, ‘मन र आँट भए निस्वार्थ भावनाले जहाँ बसेर पनि देशको सेवा गर्न सकिन्छ तर एक्लैले कहाँ सम्भव हुनेरहेछ र ?’ उनको बुझाइमा प्रवासमा बसेर नेपाल सम्झेर र गुणगान गाए मात्र हुँदैन, ओठेभक्तीले मात्र पुग्दैन, काम गरेर देखाउन सक्नुपर्छ । ‘विदेश पुगेपछि स्वदेशको माया औधी लाग्ने रहेछ,’ उनले भने,‘माया प्रकट गर्ने तरिका मात्र बदलेको हुँ ।’
ट्रक हाँकेरै अमेरिका र क्यानाडाका दर्जनौं शहर घुमेका नरबहादुरका परिवारै क्यानाडा बस्छन् । उनलाई प्रष्ट रुपमा थाहा छ उनको पेशाप्रति मानिसहरूको दृष्टिकोण खासै राम्रो छैन । दैनिक १२ घण्टा ट्रक हाँक्नुपर्छ । अनेकौ चुनौतीहरूको सामना गर्नुपर्छ । कुनैबेला सडकमै अलपत्र परिन्छ । कतिपय गन्तब्यमा पुग्न त १० दिन बढी लाग्छ । क्यानडाको टोरोन्टोबाट अमेरिकाको क्यालिफोर्नियाको दुरी ४ हजार ३ सय किलोमिटर छ । यो यात्रा पूरा गर्न १० दिन लाग्छ । तर कमाइ र मज्जा यसै पेशामा छ ।
त्यो कमाइको केही रकम उनले नेपालका गाउँमा सामाजिक सेवामा खर्चिने गरेका छन् । उनले धेरै नेपाली युवालाई लरी ट्रकको ड्राइभर बनाएर जागिर पनि लगाइदिएका छन् । निकट भविष्यमा उनले महत्वकांक्षी योजनाहरू अघि सारेर नेपाली गाउँमा उदाहरणीय काम गर्ने योजना समेत बनाइरहेका छन् ।
नरबहादुर यतिबेला नेपालको दुर्गम गाउँका विद्यार्थीहरूका लागि एक बृहत अभियान संचालन गर्ने सोचमा छन् । क्यानाडा–नेपालको शैक्षिक क्रियाकलाप आदनप्रदान गर्न क्यानाडामै अवार्डको तयारीमा जुटेका छन् । पर्यटन प्रवर्द्धनका पृथक योजनाहरू पनि बनाइरहेका छन् । लरी ट्रकमा सातै प्रदेशका पर्यटकीय स्थलहरूको प्रचार गर्ने उद्देश्यले भिन्न परियोजनाको तयारीमा पनि जुटेका छन् ।
प्रवासमा बसेर उनी नेपाली पहिचान झल्काउने काम मात्र गरिरहेका छैनन् । नेपालमा असहाय, निमूखा, गरिब, विरामीहरूका लागि सहयोग जुटाएर पुन्य आर्जन गरिरहेका छन् । लगभग डेढ करोड नेपाली रुपैयाँ समाजसेवा र पर्यटन प्रवर्द्धनमा खर्चिएको उनको भनाइ छ । यसका लागि क्यानडामा कमाएको रकम मात्र होइन काठमाडौंमा रहेको घरजग्गा समेत बिक्री गरेको उनले बताएका छन् ।