नेपालबाट पहिलोपटक चोयुको चुचुरोमा पुग्दा…


सम्राज्ञी भण्डारी काठमाडाैँ । ४ श्रावण २०८१

आरोही निग्मा ओङ्दा शेर्पा र उनका साथीहरु सुरुमा चीनमा रहेको आठ हजार मिटरभन्दा अग्लो हिमाल ‘सिसापांग्मा’ आरोहण गर्न चाहन्थे । तर चीन सरकारबाट हिमाल आरोहणको अनुमति नै प्राप्त भएन ।

हिमाल चढ्ने योजना बनाइसकेका उनीहरु यत्तिकैमा चित्त बुझाउने वाला थिएनन् । उनीहरु नेपाल फर्किएर चोयु हिमाल आरोहणको योजना बनाए । चोयु हिमालमा चीनतर्फबाट सफल आरोहण भए पनि नेपालतर्फबाट सफल आरोहण अहिलेसम्म हुन सकेको थिएन । उनीहरुको विश्वास थियो, नेपालतर्फबाट हामी चोयुको चुचुरोमा पुग्न सक्छौँ ।

समूहमा नेपाली आरोही निग्मा ओङ्दा शेर्पा बाहेक छान्वा शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा र फ्रान्सेली आरोही अलास्डिर म्याकान्जि थिए । सिसापांग्मा हिमाल आरोहणको योजना तुहिए पनि नेपालतर्फबाट चोयु हिमाल आरोहणका लागि यी सबैमा सहमति जुट्यो ।
चोयुमा पहिलो पटक सन् १९५४ मा सफल आरोहण भएको थियो । तर नेपालबाट भने अहिलेसम्म सफल आरोहण हुन सकेको थिएन । नेपालतर्फबाट अन्तिम पटक सन् २००९ मा प्रयास गरिएको थियो ।

पहिलो पटक नेपालबाट चोयुको सफल आरोहणका लागि आरोहीको यो समूह तयारीका साथ आधार शिविर पुग्यो । पहिले चरणमा यो समूह सात हजार सात सय मिटर उचाइको तेस्रो क्याम्पसम्म पुग्यो । तर सोही दिन राति २ बजेतिर टेन्टभित्र आराम गरिरहेका बेलामा जमिन हल्लिन थाल्यो । दुई हिमालका बीचमा गाडिएको उनीहरुको टेन्ट उखेलिएला जस्तो भयो । उनीहरुले सोचे– भूकम्प गयो, अब हिमाल चढ्न सकिन्न । तर जसै उनीहरु टेन्टबाट बाहिर निस्किए उनीहरुले थाहा पाए, भर्खरे जमिन हल्लाएको माथिबाट खसेको हिउँ पहिरोले रहेछ । उनीहरु बसेको टेन्ट सात फिटभन्दा बढी हिउँले ढाकिसकेको थियो । जताततै हिउँले भरिएपछि कतै जान सक्ने अवस्था पनि भएन ।

“हामी बसेको ठाउँ हिउँले भरिएपछि अन्यत्र जान सक्ने अवस्था रहेन, तीन दिन र तीन रात सबैले टेन्टभित्रै बितायौँ”, उनले भने, “हामीमध्ये धेरैलाई त यहाँबाट आरोहण गर्न सकिन्न बरु फर्केर जानुपर्छ कि भन्ने भइसकेको थियो ।”

तीन दिनपछि उनीहरु हिउँ पन्छ्याउँदै आठ घण्टामा आधार शिविर ओर्लिए । आधार शिविर आइपुग्दा मौसम सफा भइहाल्यो । आधार शिविर झरेका उनीहरुलाई सफा मौसमले फेरि चुचुरोतर्फ बोलाएको भान भयो । तर दुर्भाग्य कस्तो भने जब उनीहरु हिमाल चढ्न सुरु गर्थे मौसम बिग्रिहाल्थ्यो । उनीहरुले पहिले पनि यस्तै भएकाले कसैले आरोहण गर्न नसकेको होला भन्दै चित्त बुझाए ।

तर जब जति प्रयास गर्दा पनि उक्लन नसक्ने भएपछि पाँच जनाको जनशक्तिले मात्रै आरोहण सफल नहुने निचोडमा उनीहरु पुगे । उनीहरुले थप जनशक्तिका लागि सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पालाई फोन गरे । उनको आग्रहपछि समूहमा थपिए गाल्जे शेर्पा र तेन्जिङ ग्याल्जेन शेर्पा ।

अब सात जनाको टोली तयार भयो । आरोही थपिएपछि उनीहरु १३ सय मिटर लामो डोरी, आइस क्रुप, १६ थान पिताङ, माक्स रेगुलेटर, अक्सिजन र प्रत्येकले एउटा हाइ इनर्जी चक्लेट र तीन लिटर तातो पानी बोकेर उकालो लागे । उनीहरु क्याम्प तीनसम्म पुग्दा चार हजार मिटेर डोरी सकिसकेको थियो । त्यसमाथि केही माथि पुग्दा बाँकी नौ सय मिटर डोरीको सहारामा चुचुरेमा पुग्न नसकिने निष्कर्षपछि उनीहरु फेरि क्याम्प तीनमा ओर्लिए । उनीहरुको दोस्रो प्रयास पनि असफल भयो ।

उनीहरुले पाँच सय २० मिटर डोरी लिएर फेरि उक्लिए । क्याम्प चारमा पुग्दा यो डोरीले चुचुरोमा पुग्न नसकिनेमा उनीहरु ढुक्क भए । उनीहरुले अल्पाइन प्रणालीमा आरोहणको प्रयास पनि नगरेका होइनन् तर त्यो प्रयास पनि चट्टानका कारण सम्भव भएन ।

लगातार चारदिनको आरोहणले पनि चुचुरो भेट्याउन नसकेपछि उनीहरु फेरि आधार शिविरमै फर्किन बाध्य भए । आधार शिविर आइपुग्दा फ्रान्सेली म्याकान्जि बिरामी परे । बिरामी साथीसँग हिमाल आरोहण गर्ने कुरै भएन । त्यसैले आधार शिविरका सामान दुई भान्सेलाई जिम्मा लगाएर उनीहरु म्याकान्जिलाई लिएर लुक्ला ओर्लिए । लुक्लामा उनीहरुले चोयु आरोहणको नयाँ योजना बुने । काठमाडौँबाट नौ सय मिटर डोरी र अक्सिजन मगाए । तीन दिन लुक्लामा आराम गरेपछि उनीहरु फेरि हेलिकप्टरमा आधार शिविर पुगे । यसपटक उनीहरुलो आधार शिविर आइपुग्ने वित्तिकै आरोहण सुरु गरिहाले ।

“आधार शिविरबाट आरोहण सुरु गरेका हामीलाई रातिको समयमा तीव्र गतिमा चल्ने हावाले निकै गाह्रो बनायो”, निग्माले भने । पहिलो दिन आधार शिविरबाट उकालो लागेका उनीहरु भोलिपल्ट विहान नौ बजे क्याम्प तीनमा पुगेका थिए । त्यहाँ केही आराम गरेपछि उनीहरु सोही दिन क्याम्प चारमा उक्लिए । त्यहाँ छ घण्टा आराम गरेपछि राति दुई बजे उनीहरुले आफ्ना पाइला चुचुरोतर्फ अघि बढाए ।

तर यसपटक पनि डोरीले उनीहरुलाई साथ दिएन । तर यहाँसम्म आइसकेपछि जसरी भए पनि चुचुरोमा पुग्नैपर्छ भन्ने अठोटले उनीहरुले यात्रा रोकिएन । निरन्तर अगाडि बढ्न अठोटले उनीहरुले चुचुरोतर्फ पाइला लम्काइ रहे । “त्यहाँसम्म पुगेपछि अब यसपटक चुचुरोमा नपुगी फर्कन हुन्न भन्नेमा सबैले संकल्प नै गर्यौँ”, उनले भने, “बाटो एकदम डरलाग्दो, तल हेर्दा चट्टान मात्रै, सामान्य गल्तीले ज्यानै जाने जोखिम थियो । हामीले अन्तिम तीस मिटर बिना डोरी नै चढ्यौँ ।”

यसरी कैयौँ पटकको प्रयासपछि उनीहरु क्याम्प चारदेखि १७ घण्टाको निरन्तर प्रयासपछि गत जेठ २५ गते राति ८ः३५ बजे उनीहरुले नयाँ कीर्तिमान कायम गरे । नेपालतर्फबाट आठ हजार एक सय ८८ मिटर अग्लो चोयु हिमालको सफल आरोहण गर्ने उनीहरुको पहिलो समूह बन्यो । नेपालतर्फबाट पहिलेपटक आफ्नो समूह आरोहणमा सफल भएकाले उनीहरुलाई संसार नै जिते जस्तो भएको उनले सुनाए ।

“चुचुरोमा पुग्दा ठूलो चौर जस्तै थियो, मान्छे नै हराउने । साथीहरु कोही कता कोही कता छरिए । चुचुरोमा चीनले मौसम हेर्ने प्रविधि जडान गरेको रहेछ । हामीले उक्त टावर खोज्न मात्रै आधा घण्टा लाग्यो”, उनले भने, “टावर आउने गरी फोटो खिचेपछि मात्र हिमाल चढेको प्रमाण हुन्थ्यो, हामीले सबैले सुरुमा फोटो खिच्यौँ ।”

तेन्जिङ ग्याल्जेन शेर्पाले वाकीटकीबाट काठमाडौँस्थित सेभेन समिटको कार्यालयमा सम्पर्क गरी हिमालको सफल आरोहणको जानकारी गराए । वाकीटकीबाट फोन गर्दा एक कलको अमेरिकी डलरमा शुल्क बुझाउनुपर्छ । एक कलमा चार मिनेट कुरा गर्न पाइन्छ । उनीहरुले उक्त जानकारी दिन मात्रै २५ डलर खर्चिए ।

सफल आरोहणपछि लुक्का आइपुग्दा उनीहरुलाई स्वागत गर्नका लागि भीड लागिसकेको थियो । दुई सयभन्दा धेरै गाउँलेहरुले उनीहरुको भव्य स्वागत गरे । चायु हिमालको बाटो खोलिदिएकोमा गाउँलेले हर्षबढाइ गरे । काठमाडौँ विमानस्थलमा पनि सेभेन समिटका तर्फबाट भव्य स्वागत गरियो भने नेपाल पर्यटन बोर्डमा पनि कार्यक्रम गरी उनीहरुको सफलताको खुलेरै प्रसंशा गरियो ।

संखुवासभाको मकालु गाउँकपलिका–१ मा जन्मएका २८ वर्षीय निमा ओङ्दा शेर्पाको सुरुवाती यात्रा कलिलै उमेरमा भएको थियो । आमा, बाबु, एक बहिनी र तीन दाजुभाईमा उनी जेठा छोरा हुन् । खेतबारीमा काम गर्नाका दुःखले उनी अमाबाबुलाई नभनी १३ वर्षको उमेरमा भागेर काठमाडौँ आएका थिए ।

काठमाडैँमा उनको कोही थिएन । एक दिन बौद्धनाथमा भैतारिएर हिँडिरहेका एक तिब्बती वृद्घ पुरुषसँग उनको भेट भयो । ती वृद्घले उनलाई भारतको नयाँदिल्लीस्थित ‘माइ स्वर’मा पढाउन लगे । त्यहाँ उनले छ वर्षसम्म तिब्बती र अंग्रेजी भाषा सिकेर नेपाल फर्र्किए । नेपाल फर्केपछि साथीहरुबाट हिमाल चढेर पैसा कमाएको कुरा सुनेपछि हिमाल चढ्ने आँट आएको रहेछ ।

त्यहि आँटले २० वर्षको उमेरमा पथ प्रदर्शक भइ उनले पहिलो पटक सगरमाथा अरोहण गरे । कलिलो उमेरमा पहिलो प्रयासमै सगरमाथाको चुचुरामा पुग्दा खुसीले सीमा नाघेको थियो भन्छन उनी । तर धेरै खुसी हुने हो भने यसैमा अल्झिन सकिन्छ भन्ने बुझेका उनले मनलाई शान्त बनाए । त्यसयता उनले कैयौँ हिमालको सफल आरोहण मात्रै गरेका छैनन् नेपाल हुँदै चोयुको पहिलो पटक सफल आरोहण गर्नेमा नाम समेत लेखाइसकेका छन् ।

४ श्रावण २०८१