रुचि र आवश्यकतामा परिवर्तन तथा प्रविधिको बढ्दो प्रयोगसँगै हस्पिटालिटीका आवश्यकता र अवसर पनि फरक हुँदै गइरहेको सरोकारवालाहरुले औंल्याएका छन् । गेट कलेजको आयोजनामा काठमाडौँमा आयोजित ‘चेञ्जिङ ल्याण्डस्केप अफ द हस्पिटालिटी एण्ड टुरिजम इन्डस्ट्री’ विषयक अन्तरक्रियामा पाटा नेपालका अध्यक्ष तथा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लेकाइले पछिल्लो समय प्रविधिको बढ्यो प्रयोगले हस्पिटालिटी क्षेत्रमा ठूलो परिवर्तन देखिएको बताए ।
उनले भने, “अहिले गुगल र एआईको जमाना छ, विद्यार्थीहरुले हातमा भएको मोबाइलबाट मात्रै सहजै सूचना लिनसक्ने अवस्था छ, तर विद्यार्थीहरुले ज्ञानसँगै आफ्नो सीपलाई बढाउन आवश्यक छ ।” पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा करिअर खोज्नेहरु बढेको उल्लेख गर्दै उनले हस्पिटालिटी क्षेत्रका विद्यार्थीहरुलाई विदेश गए पनि बुझेर मात्रै जान सुझाव दिए ।
त्यस अवसरमा लाभिया हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदर्शन पौडेलले प्रविधिको बढ्दो प्रयोगले हस्पिटालिटी क्षेत्रको सेवा प्रवाह र सञ्चालनमा फरक देखिएको बताए । उनले पछिल्लो समय कृृषि र हस्पिटालिटी क्षेत्रमा सबैभन्दा ठूलो प्रविधिको प्रयोग भइरहेको उल्लेख गर्दै यसलाई आत्मसाथ गर्दै अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए ।
“पहिले जस्तो सामान्य ज्ञानका भरमा जागिर पाइँदैन, आफूको सम्बन्धित क्षेत्रमा विज्ञ नै हुनुपर्छ । जे काम गरे पनि त्यसमा पोख्त हुनुपर्ने अवस्था आएको छ”, पौडेलले थपे, “प्रविधिका कारण परम्परागत मार्केटिङ कर्मचारीको ठाउँ कन्टेन्ट क्रियटरले लिएका छन् । यो अवसरसँगै प्रविधि केन्द्रित भएर काम गर्नुपर्ने चुनौती पनि हो ।”
“पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गएर खाना खाने र परिवारसँग समय बिताउने संस्कृति बढेको छ, यो हुनु भनेको यस क्षेत्रका लागि निकै राम्रो हो, त्यसैले हामीहरुले उनीहरुको त्यो इच्छालाई अविस्मरणीय बनाउनु हाम्रो दायित्वमा पर्छ”, उनले भने ।
सोही अवसरमा लेमोन ट्रि प्रिमियर होटलका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर अनिता बस्नेतले हस्पिटालिटी विषय पढ्नेहरुले होटलमा मात्रै नभइ विमान कम्पनीलगायतमा समेत काम पाउने भएकाले अहिले रोजगारीको अवसर धेरै भएको तर्क गरिन् । उनले हस्पिटालिटी म्यानेजमेन्ट पढ्ने वित्तिकै किचनमै काम गर्नुपर्छ भन्ने सामाजिक धारणा पनि परिवर्तन भएको बताइन् ।
“कोभिड–१९ का कारण पनि हस्पिटालिटी क्षेत्रमा परिवर्तन देखिएको छ, नेपालीहरुको सेलिब्रेसन कल्चर र स्टेकेसन आउटिङहरु बढेको छ । यो हाम्रो लागि अवसर हो”, उनले भनिन्, “विद्यार्थीहरुका लागि स्वदेशका साथै विदेशमा पनि उत्तिकै सम्भावना छ ।” बस्नेतले हस्पिटालिटी क्षेत्रमा ग्राहकका लागि सेवा तथा सुविधाका साथै नयाँ–नयाँ अनुभव प्रदान गर्न सक्नुपर्नेमा जोड दिइन् ।