नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित, पर्यटकको आगमन बढ्ने अपेक्षा


टुरिजम पाना काठमाडौं । २७ पुष २०७९

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।

“पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भने, “यसले हामीलाई निकै हौसला दिएको छ ।” महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताए ।

“नारायणी नदीमा डल्फिन छ भनेर हाम्रा बाबुबाजेले भनेको सुन्ने गरेका थियौँ”, उनले भने, “अहिले आफ्नै आँखाले डल्फिन देख्न र फोटो खिच्न पाउँदा निकै खुसी लागेको छ ।” उनले अमलटारीघाटमा मात्रै नभएर कहिले केही तल सेहरी त कहिले पितौजीघाटसम्म देखिने गरेको जानकारीमा आएको बताए ।

“कहिले अमलटारीबाट दक्षिणमा रहेको मध्यविन्दु नगरपालिकाको नन्दपुर तथा सेहरीमा डल्फिन देखिएको सुन्छु, कहिले उत्तरतर्फ गैँडाकोट नगरपालिकाको पितौजीघाटमा डल्फिन देखिएको खबर आउँछ”, महतोले भने, “यी सबै ठाउँमा देखिएका डल्फिन एउटै हुन् वा फरक हुन् भन्नेबारे भने अध्ययन हुनसकेको छैन ।” सन् २०१८ मा नारायणीमा डल्फिन देखिएपछि गत वर्षमात्रै चरा गणनाको बेलामा महतोले नै भेलौजी पोष्ट नजिक डल्फिन भेटेर फोटो खिचेको स्मरण गरे ।

“सन् २०१८ मा डल्फिन भेटिएको सुनेको थिएँ, त्यसपछि सायद डल्फिन देखिएको थिएन”, उनले भने, “गतवर्ष चरा गणनाका बेलामा मैले भेलौजी पोष्ट नजिक दुई डल्फिन देखेको थिएँ ।” यसपछि भने आफूहरु धेरैपटक डल्फिन देखेको महतोको भनाइ छ । “हाम्रो नारायणीमा डल्फिन देखिनु गौरवको कुरा हो”, उनले भने, “डल्फिनलाई नजिकबाट देख्न पाउँदा निकै आनन्द आउँछ ।”

अमलटारीघाटमा पटक–पटक डल्फिन देखिँदा पनि यसको स्थानीय प्रशासनले संरक्षणमा चासो नदेखाएको महतोले गुनासो गरे । “डल्फिन निरन्तर देखिएको यो क्षेत्रमा माछा मार्ने तथा अन्य गतिविधि हुने गरेको छ”, महतोले भने, “तर, स्थानीय प्रशासनको संरक्षणमा चासो देखिएन ।” माछा मार्न बोटेहरुले तियारी जालको प्रयोग गर्दा संरक्षणमा नै चुनौती थपिनसक्ने महतोको भनाइ छ ।

“घडियाल गोहीको मुखमा तियारी जाल अल्झिएको देखेर मैले फोटोसमेत खिचेको छु”, उनले भने, “सङ्कटापन्न जीवजन्तुको संरक्षणमा सबैको हातेमालो आवश्यक छ ।” एकान्त तथा धेरै हल्ला नहुने क्षेत्रमा डल्फिन भेटिने गरेको भए पनि यस क्षेत्रमा मानवीय क्रियाकलाप बढी हुने उल्लेख गर्दै महतोले यसबारे प्रशासनले कडाइ गर्नुपर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नारायणी नदीमा डल्फिन भेटिनु भनेको संरक्षणमा सकारात्मक कुरा भएको बताए ।

नदीमा डल्फिन देखिने क्रम बढेसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । (रासस)

२७ पुष २०७९