भेडिगोठलाई सेल्टर बनाउँदै लमजुङको लिपेलेक ट्रेकिङ


टुरिजम पाना संवाददाता काठमाडौं । १८ फाल्गुन २०७९
lipey trek

लमजुङको दोर्दी गाउँपालिकाले लिपे लेकलाई क्याम्पिङ ट्रेकको गन्तव्य बनाउन आह्वान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिपे लेकलाई केन्द्रमा राखेर क्याम्पिङ ट्रेक गर्न आह्वान गरेका हुन् ।

पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिकामा अत्यन्तै आकर्षक एवम् रमणीय गन्तव्यहरू रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

दोर्दीको यी आकर्षक गन्तव्यमा आफ्नो समयअनुसार, छोटो र लामो ट्रेक गर्न सकिन्छ । दोर्दीको नौथरसेराबाट सुरू रेर इलमपोखरी, लिपे लेक हुँदै दाम्राङ पुग्ने र फेरि त्यहाँबाट नौथरसेरा झर्ने ४ दिने क्याम्पिङ ट्रेक गर्न सकिन्छ ।

यस्तै नौथरसेराबाट सुरू गरेर इलमपोखरी, लिपे लेक हुँदै नौटाँचे, मुल्मचे, उखण्ड ताँजे हुँदै फेरि नौथरसेरा झर्ने ८ दिनको ट्रेक गर्न सकिन्छ ।
यस्तै सोही रुट हुँदै उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा, बाह्र पपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेशीशहरसम्मको ११ दिने ट्रेकिङ पनि जान सकिन्छ ।

लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि दोर्दी गाउँपालिकामै पर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । अहिले पालिकाले अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यमा सो हिमाल चड्ने सम्भावनाको खोजी गरिरहेको उनले बताए ।

लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ ।
अध्यक्ष अधिकारीले भने,‘मानव वस्ती नभएकाले यो रुटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन ।’

अध्यक्ष अधिकारीका अनुसार, पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे जान सकिन्छ ।

यस्तै पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोड्नका लागि पालिकाले काम गरिरहेको उनले बताए ।

इलमपोखरी–लिपे–दाम्राङ छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको ‘वार्मअप’ ट्रेकको रुपमा पनि जान सकिन्छ ।

यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँड्न पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मजा बेग्लै हुन्छ ।

‘पूर्वमा देखिने जस्तै लालिगुराँस यो रुटमा देखिन्छ । धुलोधुवाँ पनि नहुने, निकै मनमोहक ट्रेकिङ यहाँबाट गर्न सकिने मैले पाएँ,’ दीपक रोकाले भने ।

यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ । मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकहरूलाई सहज होस्भन्ने हिसाबले पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष अधिकारी बताउँछन् ।

उनका अनुसार, पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम भइरहेको छ ।

यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्ने अपेक्षा लिइएको अध्यक्ष अधिकारीले बताए ।

भेडिगोठलाई सेल्टर बनाउँदा पर्यटकहरूलाई सहजका साथै त्यहाँका स्थानीयलाई रोजगारी समेत मिल्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
मानव वस्ती नरहेका कारण यी रुटहरूमा मोटरबाटोको विस्तार हुने अवस्था छैन । जसकारण ट्रेकिङको अर्गानिक स्वाद लिनका लागि त्यसकारण पनि यो रुट निकै नै शान्त एवम् आनन्ददायी हुने उनको भनाइ छ ।

यो रुट छोटो ट्रेकका लागि अत्यन्तै उत्कृष्ट रहेको अध्यक्ष अधिकारी बताउँछन् । उनले भने,‘यस क्षेत्रमा पर्यटकहरूलाई स्वागत गर्न गाउँपालिका आत्तुर रहेको छ ।’

यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ ।

इलमपोखरी लगायतका धार्मिक तथा ऐतिहासिक महत्वको यस क्षेत्रको अवलोकन गरि धार्मिक पर्यटन तथा ट्रेकिङको मज्जा लिन समेत उनले पत्रकार सम्मेलनमार्फत आह्वान गरे ।

पत्रकार सम्मेलनमा पर्यटन व्यवसायी राजेन्द्र वस्तीले लिपे लेक रुटलाई ‘भर्जिन ट्रेक’का रुपमा विकसित गर्न सकिने बताए । उनले सो क्षेत्र पर्यटनको प्रशस्तै सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै कृषि तथा पर्यटनलाई जोडेर त्यहाँ व्यवसाय गर्न सकिने बताए ।

काठमाडौंबाट करिब १८० किलोमिटरमा जोर्नेसम्म पुग्न सकिन्छ । जोर्नेबाट आफ्नो समयानुकुल ट्रेकिङमा निस्कन सकिने पर्यटन व्यवसायी बलराम सिलवालले जानकारी दिए । पोखराबाट पनि करिब ४ घण्टामै जोर्ने पुगिने हुँदा यो गन्तव्य निकै छोटो र रमणीय रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा क्याप्टेन ट्रिपल ‘पि’ गुरुङले लिपे लेकको रुटमा क्याम्पिङ ट्रेकमा जाँदा निकै आनन्द आउने बताए । यी रुटहरूमा क्याम्पिङ जाँदा अधिकांश स्थानबाट हिमशृङ्खला, रमणीय डाँडाकाँडाको अवलोकन गर्न पाइने उल्लेख गरे ।

काठमाडौंबाट समूह बनाएर यात्रामा निस्कँदा करिब ७ देखि १० हजारसम्म खर्चका लागि रकम बोकेर लिपे लेकतर्फ यात्रा गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

१८ फाल्गुन २०७९