चिटिक्क सिङ्गारिएको पर्यटकीय क्षेत्र गाजाको दह

दहमा छचल्किने हिमालका दृश्यले बनाउँछ मोहित


टुरिजम पाना वाग्लुङ । २० कार्तिक २०७९
gaja daha

हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ ।

बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह । गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ । गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो । जैमिनीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गाजाको दहमा हरेक वर्षझैँ यस वर्ष पनि वैकुण्ठ चतुर्दशीको अवसरमा तोरण तार्ने योजना युवाहरूले बनाएका छन् ।

सरोकारवालाको नजर कम पुगेको गाजाको दहमा युवाहरूले हरेक वर्ष गर्ने यो प्रयासले प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गर्छ । मेलाका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण गर्न युवाहरूले गाजाको दह संरक्षण, सांकृतिक तथा खेलकुद विकास मञ्च लागेको छ । मञ्चका अध्यक्ष शेरबहादुर पुनका अनुसार गाजाको दह दक्षिण बागलुङको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । तर यहाँ राज्यका संयन्त्रको नजर कम पुग्ने गरेका कारण गाजाको प्रचार हुनसकेको छैन ।

गण्डकी प्रदेश सरकारले तयार गरेको पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । तर प्रचार–प्रसार र संरचना निर्माणको अभावमा गाजाको दहमा अन्य पर्यटकीय क्षेत्रमा जस्तो पर्यटक पु¥याउन नसकिएको पुन बताउछन् । “गाउँ, पाखा र वन हुँदै सवारी चढेरै गाजाको दह आउन सकिन्छ, बास बस्न आउनेका लागि यहाँ घरबासको पनि व्यवस्था छ”, उनले भने, “बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकको रेश, बरेङको धुल्लुबास्कोट र जैमिनी नगरपालिकाको दमेकको बाटो भएर यहाँ आउन सकिन्छ ।” उनका अनुसार गाजा दहलाई पहिले–पहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ ।

हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका भए पनि सन्तोषजनक नरहेको जैमिनी–३ का वडाध्यक्ष कृष्ण भुजेल बताउछन् । खेती किसानी गरेर जीविका चलाउँछन् गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ ।

व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरू स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । अहिले तीन घरमा मात्र होमस्टे सेवा छ । पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको सञ्चालकहरू बताउँछन् । कोदो, मकै, भटमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुने गरेको उनले बताए ।

सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि गाजा दहमा बढ्न थालेको पर्यटकीय आकर्षण कोरोना महामारीपछि थला परेको छ । पाँच वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको रु एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ ।

गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ । गाजा क्षेत्रको जङ्गल जडीबुटीका लागिसमेत प्रख्यात छ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यूटावर’, पदमार्ग, सामुदायिक लजजस्ता पूर्वाधार बनाउने उल्लेख छ । (रासस)

२० कार्तिक २०७९