विश्वसँग सिधै जोडियो लुम्बिनी


टुरिजम पाना काठमाडाैं । २६ भाद्र २०७९

यस वर्षको बुद्ध जयन्तीकै दिन लुम्बिनी सिङ्गो विश्वसँग जोडियो । आठ वर्षदेखि भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) बुद्ध पूर्णिमाको अवसर पारी २ जेठदेखि सञ्चालनमा आएको छ ।

विमानस्थलमा कुवेतको जजिरा एयरवेजले बिहान सात बजे पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गरेको थियो । अब विश्वका जुनसुकै देशबाट लुम्बिनीमा सिधा उडान गर्न सकिने भएको छ । सिधै लुम्बिनी आउन चाहने पर्यटकलाई विमानस्थलले सहज बनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेको ७४ वर्षपछि देशले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ । तीन दशकदेखि बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा÷बहस चलिरहँदै भैरहवामा नयाँ अन्तर्रााष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । निजगढ विमानस्थलको भविष्य भने अन्योलमा परेको छ ।

साँघुरो बन्दै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा पनि हेरिएको छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । अब त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेर जहाज डाइभर्ट गर्नुपरेमा लखनउ, दिल्ली वा बङ्गालदेश जानु पर्दैन । निजगढमा तत्काल अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने भएपछि गौतमबुद्ध विमानस्थललाई थप महत्वका साथ हेरिएको छ । त्रिभुवन विमानस्थलले धान्न नसकेको अन्तर्राष्ट्रिय उडान र यात्रुहरूलाई गौतमबुद्ध विमानस्थलले भरथेग गर्ने क्यानको भनाइ छ ।

अझैं गौतमबुद्ध विमानस्थलमा २५ अर्ब रुपैयाँभन्दा बढीको काम गर्न बाँकी छ । यो विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बनाउन एरोब्रिजसहितको नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउनुपर्छ । विमानस्थलमा थप पार्किङ लगायतका सुविधाहरू पनि बढाउनुपर्ने हुन्छ । नयाँ टर्मिनल भवन बनाउन करिब १८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । बर्सेनि १० प्रतिशतका दरले बढ्दै गइरहेका यात्रुको चाप व्यवस्थापन गर्नका लागि पनि ठूलो आधुनिक टर्मिनल भवन बनाउनुपर्ने आवश्यकता छ ।

‘एउटा अन्तर्राष्ट्रिय विमानस्थल थपिनु भनेको कम्तिमा १०–१२ लाख पर्यटक बढ्ने आधार तयार हुनु हो ।’ पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी भन्छन्, ‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा बुद्धिष्ट पर्यटक बढ्ने छन् । अहिले त्रिभुवन विमानस्थल हवाइ चाप बढेर साँघुरो हुँदा कुनै नयाँ अन्तर्राष्ट्रिय वायुसेवाले उडान गर्न वा उडान थप्न चाहेमा नयाँ स्लट दिन नसक्ने अवस्था आइसकेको छ । हामीले गौतमबुद्ध विमानस्थललाई खाली कामदार बोक्ने भन्दा पनि पर्यटक बोक्ने आधारशिला बनाउनुपर्छ ।

पर्यटक भित्र्याउने ‘गेट वे’ बनाऔँ
 बसन्त मिश्र
गौतमबुद्ध विमानस्थललाई विश्वका बौद्धमार्गी पर्यटक भित्र्याउने प्रमुख ‘गेट वे’का रूपमा विकास गर्नुपर्छ । हामीले श्रमिक होइन कि पर्यटक बोक्ने विमानस्थल बनाउनुपर्छ । अहिले आइरहेका वायुसेवाले नेपालको श्रम बजार मात्र हेरेर आएका हुन् । हामीले पर्यटक आउने देशमा व्यापक मार्केटिङ गरेर त्यहाँका वायुसेवालाई गौतमबुद्ध विमानस्थलमा ल्याउनुपर्छ ।

एभियसन र पर्यटनमा कोशेढुङ्गा

प्रदीप अधिकारी, महानिर्देशक, नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)

विमानस्थल नेपालको उड्डयन क्षेत्र र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुनेछ । सुरुको वर्ष अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ लगायत सेवासुविधामा शतप्रतिशत छुट दिने क्यानको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । क्यानले पहिलो वर्ष सेवा सुविधामा छुट दिएरै भए पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवामा आकर्षित गर्न लागेको हो ।

नयाँ विमानस्थलमा जोखिम हुँदाहुँदै पनि भैरहवामा उडान सुरु गरेका छौं

रविन्द्रन भाराथन, भाइस प्रेसिडेन्ट, जजिरा एयरवेज

नयाँ विमानस्थलमा जोखिम हुँदाहुँदै पनि भैरहवामा उडान सुरु गरेका छौँ । भैरहवामै श्रम स्वीकृतिको व्यवस्था नगरे भैरहवा उडान कठिनपूर्ण हुने अवस्था छ । गौतम बुद्धको जन्मस्थान लुम्बिनी सिधा हवाई सम्पर्कबाट जोडिँदा पर्यटकको संख्या पनि बढ्ने छ । सेवा सुविधामा छुट हँुदा जजिरा एयरवेजले काठमाडौँबाट भन्दा भैरहवाबाट १० हजार सस्तोमा यात्रु बोक्ने गरेको छ ।
भैरहवा उड्न दर्जनभन्दा बढी वायुसेवाको चासो

गोविन्द प्रसाद दाहाल, महाप्रबन्धक, भैरहवा विमानस्थल

भैरहवा विमानस्थलमा नयाँ धावनमार्ग सञ्चालनमा आएपछि १५ सय मिटर लामो पुरानो धावनमार्ग ट्याक्सी वे मा परिणत भएको छ । विमानस्थल खुला भएयता आन्तरिक उडान ३ हजार मिटर लामो र ४५ मिटर चौडाइको नयाँ धावनमार्गबाट भइरहेको छ । उद्घाटनको दिन नियमित र चार्टर्ड गरी ८÷१० वटा अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा गरे पनि एउटा मात्र व्यावसायिक उडान भयो । तर भैरहवा उडान गर्न विभिन्न देशका एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो देखाइरहेका छन् ।

एडीबीको ऋण सहयोग
गौतमबुद्ध विमानस्थलको स्तरोन्नति एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा सुरु गरिएको हो । यस विमानस्थलमा जग्गाको मुआब्जा र भौतिक संरचना निर्माणमा गरी अहिलेसम्म ३० अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । विमानस्थलमा धावनमार्ग, टर्मिनल भवन, एटीसी टावर, एप्रोनलगायतका भौतिक संरचनाहरू निर्माणमा करिव ७ अर्ब, सञ्चार उपकरण जडानमा ५० करोड र जग्गा मुआब्जामा २३ अर्ब रुपैयाँ खर्च भइसकेको महानिर्देशक अधिकारीले बताए ।

झण्डै रुग्ण बनेको विमानस्थल सञ्चालनमा
६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थलमा स्तरोन्नति गरिएको हो । यो विमानस्थल २०७१ माघमा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले शिलन्याश गरेका थिए । सन् २०१५ को सुरुमै निर्माण सुरु गरेको चिनिया कम्पनी ‘नर्थ–वेष्ट सिभिल एभियसन’ले सन् २०१७ को डिसेम्बरसम्म विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने शर्त थियो । तर भूकम्प, नाकाबन्दी, वर्षात्को डुबान, मधेश केन्द्रीत बन्द हड्ताल र आन्दोलन, कोभिड महामारी, चिनियाँ निर्माण कम्पनी र निर्माण सामग्री उपलब्ध गराउने स्थानीय ठेकेदारको लापरबाही, निर्माण सामाग्रीको अभाव लगायत विविध कारणले निर्माणमा अवरोध भइरहँदा विमानस्थल ४ वर्ष ढिलो गरी २ जेठ २०७८ देखि सञ्चालनमा आएको हो ।

गौतमबुद्ध विमानस्थल बीचमा झन्डै रुग्ण परियोजनामा परिणत भइसकेको थियो । ऋण सहयोग गरेको दाता एसियाली विकास बैँक (एडीबी) ले निर्माणमा असन्तोष राख्दै रकम दिन नसक्ने चेतावनी दिइसकेको थियो । तर सन् २०१८ पछि निर्माणमा चुस्तता देखाउँदै एडीबीको विश्वास जितेर विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइएको क्यानका कर्मचारी बताउँछन् ।

विमानस्थल देखेर ओइरियो लगानी
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि पर्यटक ओइरिने आशामा लुम्बिनी, भैरहवा र रुपन्देहीमा होटलमा ठूलो लगानी भएको छ । दुईवटा पाँचतारे होटल टाइगर प्यालेस र पवन प्यालेस सञ्चालनमा आइसकेका छन् । अझैँ आधा दर्जन हाराहारी पाँचतारे होटल निर्माणको चरणमा छन् । सञ्चालनमा रहेका कतिपय होटलमा लगानी थपेर स्तरोन्नति गरिएको छ । करिब पाँच अर्ब लगानीमा सञ्चालनमा आएको टाइगर प्यालेस उपत्यकाबाहिरको सबैभन्दा ठूलो होटल हो ।

विमानस्थल शिलन्याश गरेसँगै २०७१ देखि अहिलेसम्म आइपुग्दा एयरपोर्ट वरिपरिमात्रै तारे होटलमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको सिद्धार्थ होटल एसोसियसनका उपाध्यक्ष विष्णु गौतम सुनाउँछन ।

लुम्बिनीको पर्सा चोकनजिक साढे दुई अर्ब लगानीमा १ सय ४७ कोठाको पाँचतारे पवन प्यालेस हालै सञ्चालनमा आएको छ । चन्द्रप्रकाश (सिपी) श्रेष्ठले तीनतारे नान्स होटलको स्तरोन्नति गरी चारतारेस्तरको बनाएका छन् । अर्जुन भुसालले छपियामा समुद्रको परिकल्पनासहित २२ विघा क्षेत्रफलमा कृत्रिम तालमाथि ‘लुम्विनी प्यालेस रिसोर्ट’ सञ्चालनमा ल्याएका छन्, जसमा सवा अर्ब लगानी भइसकेका छ । भैरहवा र लुम्बिनीबाट टाढा भए पनि यस रिसोर्टमा पाहुनाको आकर्षण देखिन्छ ।

गैरआवासिय नेपाली जीवा लामिछानेले भैरहवामा ‘गौतम बुद्ध एयरपोर्ट होटल’ सञ्चालन गर्दैछन् । लुम्बिनी रोडमा एक अर्ब रुपैयाँ लगानीमा १ सय २५ कोठा भएको ‘होली डे इन’ सञ्चालनमा आउँदैछ । यो बहुराष्ट्रिय होटल चेन हो । यसलाई दुई बर्षभित्र सञ्चालनमा ल्याइसक्ने होटलका सञ्चालक सुरज उप्रेतीको तयारी छ । बुटवल–भैरहवाको अञ्चलापुरमा साढे दुई अर्ब लगानीमा सिद्धार्थ होटल सञ्चालनमा आउँदै छ भने भैरहवाको बुद्धचोकमा घिमिरे समूहले एक वर्षभित्र पाँचतारे ‘एसियन इन्टरनेसनल रिजेन्सी’ होटल सञ्चालनमा ल्याउँदैछ ।

भुसाल समूहले बेलहियामा पाँचतारे ‘मेघा–२’ होटल सञ्चालनमा ल्याउँदैछ, जहाँ एक सय २७ कोठाहरू हुनेछन् । ग्रुपका अध्यक्ष बालकृष्ण भुसाल एक बर्षभित्र यो होटल सञ्चालनमा आउने बताउँछन् । विशाल क्यासिनोसहितको यस होटलमा साढे दुई अर्ब लगानी हुँदैछ । यो समूहले मणिग्राममा मेघा–१ र बुटवलमा मेघा–३ होटल निर्माण गरिरहेको छ ।

विमानस्थल शिलन्यास भएको सात वर्षमा विमानस्थल वरिपरि ५० भन्दा कम कोठा भएका तीन दर्जनभन्दा बढी होटल सञ्चालनमा आइसकेको बताइन्छ । ती होटलहरूमा १० अर्ब हाराहारी लगानी भएको अनुमान छ । काठमाडाँंका तारे होटल द्वारिकाज, होटल तिब्बत, सोल्टी, ल्यान्डमार्कलगायतले भैरहवा-लुम्बिनी क्षेत्रमा होटल खोल्न अन्तर्राष्ट्रिय विमानस्थल कुरेर बसिरहेका छन् ।

भैरहवा–लुम्बिनी रातभर खुला गर्नुपर्ने
क्यानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि चौबिसै घण्टा सञ्चालन गर्ने बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन गरेपछि वैकल्पिक विमानस्थल गौतमबुद्ध पनि रातभर खुला राख्नुपर्ने क्यानका अधिकारी बताउँछन् । भैरहवाका पर्यटन व्यवसायीले एयरपोर्टसँगै भैरहवा–लुम्बिनी क्षेत्रका रात्रिकालीन सेवालाई पनि रातभर खुल्न दिनुपर्ने बताउँछन् । भैरहवा–सुनौली नाका र अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्धको जन्मस्थल, औद्योगिक हब, बैँकिङ तथा कर्पोरेट हब, उपभोग्य आम्दानी बढी भएका नागरिक बस्ने बुटवल सहरलगायत कारणले पनि यहाँको व्यवसाय चौबिसै घण्टा खुला गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

सरकारले पनि रात्रिकालीन व्यवसायहरू चौबिसै घण्टा खुला राख्ने निर्णय गरिसकेको छ । तैपनि प्रहरीले होटल तथा रेष्टुरेन्ट १० बज्न नपाउँदै बन्द गर्ने गर्छ । डान्स बार, डिस्को थेक, गजल बार, दोहोरी रेष्टुरेन्टजस्तै अरू रेष्टुरेन्ट पनि चौबिसै घण्टा खुला हुनुपर्ने व्यवसायीहरूको माग छ । भैरहवा–लुम्बिनी क्षेत्रमा अलि गर्मी हुने हुँदा पनि चौबिसै घण्टा सेवा सञ्चालन गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने स्थानीय व्यवसायीको तर्क छ ।

२६ भाद्र २०७९