चिसोमा पनि मनाङ पुगे पर्यटक


टुरिजम पाना मनाङ । १४ पुष २०७९
Manag
तस्बिर : निराेज पाैडेल

हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

‘चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौँ’ गौतमले भने, ‘हिमपात नभए पनि चिसो अत्यधिक छ । खानेपानी जमेको अवस्था छ । तर पर्यटक आउन रोकिएको छैन ।’

पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर आउनुपर्ने उनले बताए । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने उनको भनाइ छ । हिमापत भएपछि भने मनाङ गाउँबाटमाथि जान सक्ने अवस्था नहुने उनले बताए ।

केही मान्छेको फोक्सोले चिसोलाई सहज रुपमा अनुकूल बन्न सक्छ भने केही व्यक्तिको फोक्सोलाई चिसोले प्रतिकूल बनाउने हुँदा लेक लाग्ने समस्या हुने गौतमको भनाइ छ । कम पर्यटक हुँदा जोखिम कम हुने उनले बताए ।

कम हुँदा सहज हुने र बसोबासका लागि समस्या नहुने गौतमले बताए । तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाएको उनी बताउँछन् ।

विकट हिमाली जिल्लावासीको विचार, यहाँको मौसम अनुकूलता अनुसार काम गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताइन् ।

पर्यटकीय क्षेत्र भएकाले अझ सचेतता अपनाउनुपर्ने हुँदा सोही अनुरुप अध्ययन गरी मनाङका लागि सहज वातावरण तयार गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

पर्यटकसँग सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा पर्यटकको जोखिम हेरी निर्णय र सहज बनाउने उनको प्रतिबद्धता छ । चिसोका कारण मनाङमा यति बेला विकास निर्माण बन्द छ ।

१४ पुष २०७९