पर्यटनको प्रचुर सम्भावना बोकेको ‘नागी थाम डाडा ‘


सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको धार्मीक महत्व बोकेको सुन्दर नागी थामडाडा अहिले पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ । बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरंगी तोरणले नागी थामडाडाँको सुन्दरतालाइ बढाइरहेको हुन्छ ।

गाउपालिकको ड्रीम प्रोजेक्टको रुपमा रहेको यस ठाउँलाई ‘पेमाछल उद्यान केन्द्र’ नामकरण गरिएको छ । अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्ट मणिको चैत्य निर्माण कार्य सम्पन्न गरेका छन् ।

यहाँका बुढापाकाहरुका अनुसार कुनै बेला नागीथाम डाँडामा चौरीको खर्क थियो । उनीहरुले यहाँ आलु र स्याउ फलाउथे । विस्तारै पछिल्ला पुस्ताहरु चौरीको खर्क छाडेर गाउँमा केन्द्रित भए ।

यहाँ साहसीक खेल प्यारागाईडिङको पनि सफल परिक्षण भइसकेको छ भने जिपलाइनको योजना समेत पाइपलाइनमा छ । नागीथाम डाँडा समुन्द्री सतह देखि २४ सय ८० मिटर उचाइमा पर्दछ । यहाँबाट पश्चिममा जुगल हिम श्रीङ्खलाको मनमोहक दृश्य देखिन्छ भने थाङ्पाल उपत्यका सुन्दर गाउँ । दक्षिणमा छिमेकी जिल्ला काभ्रेको धुलिखेल, नगरकोट, फुलचोकी डाँडा हेर्न सकिन्छ । मुख्यत यहाँ जाडोयाममा पर्ने हिउँ संग रमाउनेहरु देख्न र हिउँ खेल्न पाइन्छ । हिउँसंग रमाउन पनि पर्यटकहरु यहासम्म आउने गर्छन् ।

मणि ब्राह्मणको परिचय जीवन गथा सङ्गै यस ठाउँको परिचय धारणी सुत्र (मन्त्र ) मा उल्लेख गरिएको पाईन्छ । यस मन्त्रमा उल्लेख गरे अनुसार दायाँ पट्टि सिंह गर्जेको जस्तो बायाँ पट्टी हात्ती सुतेको जस्तो र बिचमा शिखर कैलाश रहेको र त्यस स्थानमा पवित्र भुमी समय ताराको बासस्थान हुनेछ भनी उल्लेख गरेको नागी थाम डाडा संरक्षण समितिका अध्यक्ष फुर्पा सिङ्गी लामा बताउछन् । ढुङ्गा र माटोको बनौट भएको विभिन्न जीव पशुपन्छीको बास स्थान र विभिन्न प्रकारका वनस्पति, फुलहरु फुल्ने सुनसान जङ्गल रहनेछ भनी उल्लेख गरेको लामाले बताए ।

त्यस्तै उनले तिव्बतको तान्त्रिक यान तोप्तेन शाक्य श्री को भतिजो स्वयम्बु दर्शन गर्ने क्रममा यहि स्थल हुँदै जानुभएको आलेखहरु भेटिएको उल्लेख गर्छन् । शाक्य श्री यात्रामा खोलाको तिरै तिर जाने क्रममा धुपी पिन्ने घट्ट रहेको र त्यसै माथी एउटा पवित्र स्थल देखिएकाले त्यस स्थानमा मणि ब्राह्मणको सम्झनामा एउटा चैत्य निर्माण गरेको पनि देख्न सकिने किंवदन्ती छ ।यस स्थानमा पाँच वटा डाकिनी ( समय तारा ) को बासस्थान रहेको भोट भाषामा लेखिएको पाईन्छ । यस कारण अहिले निर्माण भएको तारा महलमा समय तारा ( २१ तारा) राखेको उनले भने । यस तारा महलमा दर्शन गर्ने र पुजा स्थल हुनेछ भने बाँकी भवनमा बौद्ध मार्गीहरु ध्यान गर्ने केन्द्रको रुपमा प्रयोग हुनेछ ।

पेमाछल उद्यान केन्द्र नागीथाम डाँडा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ मा पर्दछ । यो ठाउँ राजधानी काठमाडौबाट लगभग ७५ कि.मि दुरिमा रहेको छ । काठमाडौ जिल्लाबाट अरनीको हाइवईबाट जेरो किलो ,मेलम्ची हुदै सवारी साधनमा ४ देखि ५ घण्टाको यात्रामा यहाँ सहजै पुग्न सकिन्छ । एक दिनको समय लिएर विदामा घुम्न जाँदा सोही दिन काठमाडौ फर्किन पनि सकिन्छ । यहाँका रहन सहन सँस्कृतीलाई नजिकबाट नियाल्दै आनन्द लिन सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै खाना बस्न ब्यवस्थित होमस्टे समेत सन्चालनमा छन् । तस्बिर :बिनिता सिवाकोटी

१३ मंसिर २०८०