ओसाका एक्सपोको मुख्य मञ्चमा नेपालका स्वराज लामिछानेले आफ्नो प्रस्तुति दिने


आरती लम्साल ओसाका,जापान । ५ जेष्ठ २०८२

जापानको ओसाकामा सञ्चालन भइरहेको ओसाका एक्सपोको मुख्य मञ्चमा एकजना नेपालीले आफ्नो प्रस्तुति राख्ने भएका छन्।

आगामी जुलाई महिनाको २८ तारिख हुने कार्यक्रममा जापानको ओसाका बस्दै आएका स्वराज लामिछानेले आफ्नो नृत्य प्रस्तुत गर्न लागेको नृत्य प्रशिक्षक उचियामा सेचुकोले जानकारी दिइन । ओसाकामा लामो समयदेखि नृत्य प्रशिक्षण दिदै आएको नृत्य प्रशिक्षण केन्द्र एक्टर्स स्कुल एकेडॅमि (ESSE) को ब्यानरमा हुने कार्यक्रममा लामिछानेले आफ्नो प्रस्तुति राख्ने भएका हुन।

”२०२५ ओसाका बाम्पाकु मोरीआगेताइ इ एस एस इ पिसफुल क्रु समुह (2025 大阪・関西万博もりあげ隊 ESSE Peaceful Crew) नामको समुहमा उनीसँगै अन्य जापानी कलाकारहरूको सहभागीता रहने बताइएको छ ।

उक्त दिन जापानी सँगसँगै नेपाली गीतमा पनि नृत्य प्रस्तुत हुने भएकोले आफूहरू त्यसको तयारीमा लागेको ESSE की प्रमुख उचियामाले जानकारी दिइन ।

सात वर्षका लामिछाने जापानको प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययनरत छन। इनोचीनो खागायाकु मिराइ स्याखाईनो देजाइन् (いのちの輝く未来社会のデザイン)”चम्किलो जिवनका लागि भावी समाजको परिकल्पना”भन्ने नारासहित गत १३ अप्रिल बाट ओसाका, कान्साई एक्सपो सुरु भएको हो।

बहुप्रतिक्षित ओसाका, कान्साई अन्तर्राष्ट्रिय एक्सपो ओसाकाको कृत्रिम टापु युमेसुमा सुरु भएको हो ।विश्वभरका १५८ राष्ट्र तथा क्षेत्रहरू र ७ वटा अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी यस भव्य प्रदर्शनीको उद्घाटन समारोह भने १२ अप्रिलमा सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा जापानका सम्राट तथा सम्राज्ञी, आकिशिनोमिया दम्पती, प्रधानमन्त्री इसिबा, र सहभागी राष्ट्रहरूका प्रतिनिधिहरू गरी करिब १३०० विशिष्ट पाहुनाहरूको उपस्थिति थियो । उक्त प्रदर्शनीमा २ करोड ८२ लाखभन्दाबढी दर्शकहरू आउने अपेक्षा गरिएको छ। प्रदर्शनी आगामी अक्टोबर १३ सम्म सञ्चालन हुनेछ।

५ जेष्ठ २०८२