विश्वका धेरै मानिसको सपना हुन्छ । जीवनमा एकपटक सगरमाथा चढ्ने, वा कम्तिमा बेस क्याम्प पुग्ने । नभएर सगरमाथाको देश नेपाल घुम्ने ।
यसमध्ये थोरैले मात्रै सगमाथा चढ्ने सपना पूरा गर्छन् । १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथाको शिखर पहिलोपटक आरोहण गरेका थिए । त्यसयता झन्डै ६ हजार पटक सगमारमाथा मानव पाइला पुगेको छ । जबकी, आरोहणको प्रयास १२ हजारभन्दा धेरैपटक भइसकेको छ । शिखर चुम्ने महत्वाकांक्षाले हिंडेका कतिपयले सगमारथामै आफ्नो प्राण विसर्जन गरेर फर्किएका छन् ।
‘मैले १ सय ५० देश साइकलबाट घुमें । तर एकपटकमात्रै सगरमाथाको शिखरमा पुग्न सकें । यी दुई कामध्ये मलाई विश्व घुम्न नै सहज लाग्यो । म दोहो¥याएर फेरि १ सय ५० देश घुम्नसक्छु होला । तर फेरि सगरमाथा चढ्नसक्छुजस्तो लाग्दैन,’ विश्व साइकलयात्री पुस्कर शाह भन्छन्, ‘सगरमाथामा सफल आरोहण गर्ने र ज्यान विसर्जन गर्ने संभावना सधैं आधा–आधा हुन्छ । यस्तो चुनौतीपूर्ण काम १८ पटकसम्म गरेर टेन्डी शेर्पाले नेपालको नाम विश्वभर फैलाउनुभएको छ ।’
शाह र शेर्पा दुबैजना ‘जिरो टु ८८४८’ वृत्तचित्रमा देखिएका छन् । यस वृत्तचित्रको ट्रेलर सोमबार सार्वजनिक गरियो । झापाको कचनकवलबाट सुरु भएर सगरमाथाको शिखरसम्म पुग्दाको यात्रालाई वृत्तचित्रमा कैद गरिएको छ । शेर्पाले निर्माण टोलीको झन्डालाई सगमाराथाको शिखरमा लगेर फहराएका छन् ।
अवधारणाकार प्रेम बानियाँले गरेको प्रस्तावबाट प्रभावित भएर आफु यस परियोजनामा जोडिएको शेर्पाले बताए । ‘यो डकुमेन्ट्री केवल व्यक्तिगत उपलब्धि मात्रै नभएर नेपालको विशाल सम्भावनालाई विश्वसामु चिनाउने एक सशक्त माध्यम हो । प्रेम दाइ मेरो एकदमै फेभरेट व्यक्तित्व हुनुहुन्छ। उहाँले लिड गरेको यो प्रोजेक्टले नेपालको बारेमा विश्वमाझ जुन परिचय दिन खोजेको छ, त्यो मलाई असाध्यै मन पर्यो,’ शेर्पाले भने, ‘यो नेपालको आत्मालाई विश्वमाझ चिनाउने एक पवित्र यात्रा हो, जसले जीवनको आरोह र अवरोहको भावनालाई समेटेको छ ।’
संघर्ष, सपना र समर्पणको गाथा
शेर्पाको जन्म सन् १९८३ मा पूर्वी नेपालको संखुवासभा जिल्लाको मकालु वरुण राष्ट्रिय निकुञ्जभित्र रहेको खम्बालुङ उपत्यकाको सैसिमा गाउँमा भएको थियो । यो उपत्यका, बौद्ध धर्मावलम्बीहरूका लागि एक पवित्र बेयुल (लुकेको उपत्यका) हो । बाल्यकालमा, उहाँको गाउँमा विद्यालय, सडक, पुल, बिजुली वा स्वास्थ्य सुविधा जस्ता कुनै पनि पूर्वाधार थिएनन्, र आज पनि स्थिति खासै फरक छैन । पाँच वर्षको उमेरमा विद्यालय जानका लागि उहाँ तीन दिन हिँडेर उपत्यका बाहिर जानुपथ्र्यो, घना जंगल, जंगली जनावरहरू जस्तै भालु, बाघ, सर्प र कीराहरूको सामना गर्दै र मनसुनको बाढीले गर्दा उर्लिरहेका नदीहरू तर्दै उनले दुई वर्ष विद्यालयमा पढे ।
त्यसपछि स्थानीय बौद्ध विद्यालयमा केही वर्ष भिक्षुको जीवन बिताए । १३ वर्षको उमेरमा, कामको खोजीमा पहिलो पटक उनी काठमाडौं आएका थिए । सन् १९९६ मा अन्नपूर्ण ट्रेकमा उनले पहिलोपटक बोके । यो ट्रेकमा उहाँले २४ दिनसम्म हरेक दिन ८ देखि १५ घण्टासम्म ४३ किलो तौल बोके । उनको उमेर र उचित उपकरणको अभावमा त्यो भारी बोक्नु सजिलो थिएन, र उनलाई आफ्नो जीवन कठिन लाग्यो । तर, उनले कहिल्यै हार मानेनन् । उमेर बढ्दै जाँदा, बलियो हुँदै जाँदा र अनुभव बटुल्दै जाँदा यो काम उनका लागि सहज बन्दै गयो ।
सन् १९९७ मा १४ वर्षको उमेरमा, उनले आफ्ना बुबासँगै मेरा पीकको पहिलो आरोहण गरे । १९ वर्षको उमेरमा, जब उहाँलाई सगरमाथा सफाइ परियोजनामा सहभागी हुन आमन्त्रण गरिएको थियो । उनीहरुको टिमले सगरमाथा आधार शिविरदेखि साउथ कोलको क्याम्प ४ सम्म करिब ८ टन फोहोर हटाए ।
सन् २००४ मा २० वर्षको उमेरमा, उनले सगरमाथाको पहिलो शिखर आरोहण गरे । यो आरोहणले उहाँलाई व्यावसायिक पर्वतारोही र गाइड बन्ने सपना पूरा गर्ने बाटो खोलिदियो । हालसम्म उनले १८ पटक सगरमाथा आरोण्ह गरिसकेका छन् । त्यसमध्ये दुईपटक त ‘जिरो टु ८८४८’ वृत्तिचित्रकै लागि गरे । टेन्डी शेर्पा फाउन्डेशनमार्फत समाजसेवामा सक्रिय शेर्पा यस वृत्तचित्रले नेपालको भौगोलिक विविधता, संस्कृति र संभावनालाई विश्वसामु उजागर गर्ने विश्वास राख्छन् । ‘ यो प्रोजेक्टमा नेपालको समग्र पक्षबारे बोल्ने प्रयास गरिएको छ, यसले संसारभर नेपालको बारेमा गहिरो बुझाइ जगाउने र पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास छ,’ उनले भने ।
निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो । यस वृत्तचित्रमा सगरमाथा चढ्न हिंडेकाहरुको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरु देखाइएको छ । सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए । उक्त यात्रालाई टेण्डी शेर्पाले सगरमाथाको चुचुरोमा पुगेर सम्पन्न गरे । विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।
कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ ९साउथकोल०, हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।
यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।
‘मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै शिखरतर्फ लम्कदै अघि बढ्छ । यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो ।
झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको बानियाँले बताए ।