जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन


टुरिजम पाना काठमाडौं । ९ फाल्गुन २०७९

नेपालको भ्रमणमा रहेको जर्मन–दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ ।

भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन–दक्षिण एसियाली संसदीय समूहमा सदस्य रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको सहभागिता रहेको थियो ।

टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाएर स्वागत गरे । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा राष्ट्रिय कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको अवलोकन गरेको थियो ।

जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न विगतमा पु¥याएको सहयोगको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले जर्मनीलाई भक्तपुरका जनताले नबिर्सने बताए । भक्तपुरको मौलिक कला संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले काम गर्दै आइरहेको टोलीलाई जानकारी गराउँदै उनले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख प्रजापतिले भक्तपुर घुम्न आउने पर्यटकबाट उठेको पर्यटन शुल्कको रकमबाट भक्तपुरको सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गर्दै आइरहेको जानकारी गराए ।

प्रतिनिधिमण्डलका तर्फबाट जर्मन–दक्षिण एसियाली संसदीय समूहका सदस्य रेनेट कुनास्टले जर्मनी र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताउँदै भक्तपुरको कला संस्कृति र मौलिकता संरक्षणबाट आफूहरू निकै प्रभावित भएको बताए ।

९ फाल्गुन २०७९