नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गरिने


टुरिजम पाना काठमाडौं । ९ फाल्गुन २०७९

नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय पर्यटन संघ, संस्था तथा व्यवसायहरूको नेटवर्क बनाउने भएका छन् ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पर्यटन समिति तथा पर्यटनका लागि युरोप–नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा नेपालको पर्यटन उद्योगको विकास सफलताका लागि सहकार्य बिषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

नेपालका पर्यटन व्यवसायी, अधिकारीक निकाय र विदेशमा बसोबास गर्ने नेपाली हरुको एकीकृत सञ्जाल निर्माण गर्ने, नेपालको पर्यटन उद्योगका प्रमुख सरोकारवालाहरू पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, ट्राभल एण्ड टुरिजम व्यवसायी, नेपाली दूतावास, पूर्व राजदुत, एनआरएनए, ईएनसीसीटी, र पर्यटनसँग सम्बन्धित अन्य संस्थाहरू मिलेर साझेदारी दृष्टिकोण सहित एउटा समिति गठन गर्ने निष्कर्ष निकालिएको एनआरएनए नेपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए ।

यस्तै पर्यटन प्रवर्द्धन सम्बन्धी मुद्दाहरूको सूचीकरण र प्राथमिकतामा सहमति निर्माण गर्ने, समय समयमा पर्यटन उद्योग र यसका सरोकारवालाहरूले सामना गर्ने प्रमुख समस्याहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने र सहमत भएका प्राथमिकताहरूलाई कार्यान्वयन गर्ने पनि छलफलबाट निष्कर्ष निकालिएको छ ।

यसैगरी कोभिड १९ र भर्खरै पोखरा हवाई दुर्घटनाका घटनाहरू पछिको नेपालको छवि पुनः निर्माण गर्न चीन, भारत र एशियाका पर्यटकलाई लक्षित गर्दै पहल गर्ने समेत गरिने भएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, सचिव सुरेश अधिकारी, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धननज्य रेग्मी, युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम अध्यक्ष दिपेशमान शाक्य सहित पर्यटन सम्बद्ध विभिन्न २८ संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यस्तै कार्यक्रममा कतार, डेनमार्क, बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, म्यानमार, इजरायल, स्वीजरल्याण्ड, बंगलदेश र अष्टेलियाका पूर्व राजदुतहरु उपस्थित थिए । नेपाल तथा विदेशमा रहेका पर्यटन संघसंस्था र व्यवसायीबीच सहकार्य बढाउँदै नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

९ फाल्गुन २०७९