आमाबुवासँग स्काइ क्याफे र स्काइ चियरमा रमाए गायक सपुत


टुरिजम पाना पर्वत । २३ चैत्र २०७९

लोकप्रिय गायक प्रकाश सपुतले आफ्ना आमाबुवासहित कुष्मामा स्काई क्याफे र स्काई चेयरमा मनोरञ्जन लिएका छन् । केही दिनअघि उनले आफ्नो आमा बिना कुमारी विश्वकर्मा र बुवा बलबहादुर विश्वकर्मासहित कुष्मामा पुगेर साहसिक खेलमा सहभागी भएको द क्लिफका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।

गायक सपुतले कुष्मालाई साहसिक खेलको हब बनाउने क्लिफको कामको प्रशंसा गरे । उनले भने,“क्लिफको यो प्रयासले कुष्माको मात्र नभई देशलाई नै चिनाउनेछ ।”उनले आफ्नै जिल्लामा साहसिक खेलका लागि राम्रो गन्तव्य बनाएको भन्दै यसले आफूलाई झनै खुशी बनाएको बताएका थिए ।

गायक सपुतका ‘बोल माया’, ‘मेरो पनि होइन र यो देश’, ‘पीर’, ‘दोहोरी ब्याटल’ लगायतका धेरै गीतहरू चर्चित बनेका छन् । गीत गायनमा मात्र नभएर सपुतको पहिचान गीत लेखन, संगीतकार तथा कार्यक्रम प्रस्तोताको रूपमा समेत अगाडि बढिरहेको छ । साथै उनी अभिनित चलचित्र ‘परदेशी २’ सिनेमा हलमा आउने तयारीमा रहेको छ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

२३ चैत्र २०७९