लजको ढोकामा प्वाल बनाएर भिडियो खिच्ने म्यानेजर पक्राउ


टुरिजम पाना काठमाडाैं । ४ कार्तिक २०७९
resturant, hotel

काठमाडौं । काठमाडौं महानगरपालिका ३ बाँसबारीमा रहेको बाँसबारी रेष्ट्रो क्‍याफे एन्ड लजको कोठाभित्र गोप्य रुपमा भिडियो खिचेको आरोपमा प्रहरीले म्यानेजरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका १५ का ४२ वर्षीय मुकेश माली रहेका छन् ।

बुधबार दिउँसो प्रहरीले पाएको सूचनाको आधारमा चेक गर्दा मालीले लुकेर भिडियो खिचेको पत्ता लागेको हो ।

मालीले लजमा प्रत्येक कोठाको ढोकामा सानो प्वाल बनाएर भिडियो रेकर्ड गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको मोबाइलमा विभिन्न व्यक्तिहरूको रेकर्ड गरिएका भिडियोसमेत फेला परेको छ ।

मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा म्याद थप गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

४ कार्तिक २०७९