सिथी नखः नेवार समुदायमा सरसफाइ र पानी सुरक्षाको महोत्सव


तस्वीर: सामाजिक सञ्जाल

-इ. सितु सैंजु 

सिथी नखः काठमाडौँ उपत्यकामा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यो सांस्कृतिक र धार्मिक पक्ष दृष्टिले मात्रै नभइ वातावरणीय र स्वास्थ्यसँग सम्बन्धित सरसफाइ र पानी सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण माानिन्छ ।

ज्येष्ठ शुक्ल षष्ठीका दिनमा मनाइने सिथी नखःले नेवार समुदायलाई एकत्रित बनाउँछ । यस दिन नेवार समुदायले आफ्नो वरपरको पानीको मुहान तथा प्राकृतिक स्रोतको सरसफाइ गरी दिगु द्यः, नाग, कुमार र अन्य सुरक्षात्मक देवताहरूको पूजा गरी हर्षौल्लसाका साथ मनाउँछन् ।

ऐतिहासिक पृष्ठभूमि
सिथी नखःका दिन विशेष गरी कुमार र धर्तीको पूजा गरिन्छ । प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस पर्वमा सिथी द्यः का रुपमा श्री कुमारको पूजा गर्ने परम्परा छ भने यस दिन बिहे भइसकेका छोरी चेलीबेटीलाई पाहुना बोलाउने गरिन्छ ।

यस दिन मास, मुङ्गी, मुसुरो, केराउ, चनाको वः बनाउने गरिन्छ भने चतामरी समेत गरी छ प्रकारका वः खाने परम्परा छ । यस दिन पीठोको सुक्खा रोटी बनाएर खान नहुने मान्यता पनि रहेको पाइन्छ । पर्वको पौराणिक पक्ष यसलाई कृषि पात्रोसँग जोडेर हेरिन्छ । जसले धान रोपाइँको यामको सुरुवातलाई चिनाउँछ । यस पर्वको समयावधि मनसुनको सुरुवातसँग मेल खान्छ, जुन धान खेतीका लागि अत्यन्त आवश्यक मानिन्छ ।

सांस्कृतिक महत्वः परिवार र समुदाय एकता
सिथी नखःलाई दिगु पूजा अर्थात् कुलपूजा मनाउने अन्तिम दिन पनि मानिन्छ । विभिन्न स्थान र समयमा देवाली मनाइए पनि, केही कारणवश कुल पूजा गर्न नपाएका, कुलपूजा गर्ने तिथि थाहा नभएर अन्योल रहेकाले सिथी नखःको दिन दिगु पूजा मनाउने गर्दछन् । त्यसैले सिथी नखः परिवारको पुनःमिलन र सामुदायिक जमघटको अवसर पनि हो भनिन्छ ।

परिवारका सदस्य वः (मासको रोटी) र चतामरी (चामलको पीठोको रोटी) जस्ता परम्परागत परिकार तयार गरी भोज खान्छन् । यी पाककला परम्पराले एकताबद्धताको भावना र सांस्कृतिक निरन्तरतालाई प्रोत्साहन गर्नेमा विश्वास गरिन्छ । सामुदायिक गतिविधि, सामूहिक सरसफाइ प्रयास र धार्मिक अनुष्ठानसहित, सामाजिक सम्बन्ध र सामूहिक सहयोगका हिसाबले पनि यो पर्व महत्वपूर्ण माानिन्छ ।

वातावरणीय र स्वास्थ्यसम्बन्धी प्रभावहरू
सरसफाइ र स्वच्छता
सिथी नखःको सबैभन्दा महत्वपूणर् पक्षमध्ये सरसफाइमा ध्यान केन्द्रित गर्नु हो । यस दिन परिवार र समुदायका सदस्य सरसफाइका गतिविधिमा संलग्न हुन्छन् । नेवार समुदायले नागको पूजा गरी इनार, कुवा, ढुंगेधारा, कुलो, पोखरीलगायतका पानीका विभिन्न प्राकृतिक स्रोत सरसफाइ गर्छन् । सुक्खा मौसमका कारण पानीका प्रमुख स्रोत सुक्दै गएका बेला पानीका स्रोत सरसफाइ गर्दा पानीको आपूर्तिमा सहजता आउने विश्वास गरिन्छ ।

पानीको मुहानको सरसफाइ गर्दा पानीमा रहेन दुषित कीटाणुको नाश हुन्छ भने पानीको सतह घटेका बेला सरसफाइ गर्न सजिलो हुन्छ । यस परम्पराले जलजन्य रोगहरू लाग्न नदिन र सामुदायिक स्वास्थ्य कायम राख्न मद्दत गर्दछ । तसर्थ यो चाड धार्मिकसँगै वातावरणीय महत्वको चाड पनि हो । सामुदायमा सरसफाइ अभियान सडक, पार्क जस्ता सार्वजनिक स्थानमा सञ्चालन हुन्छ । सामूहिक प्रयासहरूले फोहोर व्यवस्थापन र वातावरणीय संरक्षणमा मद्दत गर्दछ । स्थानीय समूहले आयोजना गरेका यी अभियानहरू सार्वजनिक स्थानहरू, सडकहरू र सामुदायिक क्षेत्रहरूको सरसफाइमा केन्द्रित हुन्छन् । यसप्रकारका गतिविधिहरूले नागरिक जिम्मेवारीको भावना र सफा वातावरण कायम राख्न सामूहिक प्रयासलाई प्रवद्र्धन् ।

पानी सुरक्षा
पानी सुरक्षा सिथी नखःको अर्को महत्वपूणर् पक्ष हो । पर्व मनसुनको सुरुआतमा हुने भएकाले स्वच्छ पानी स्रोतहरूको सुरक्षामा जोड दिइन्छ । पानीका प्रणालीहरूको मर्मत र सफाइ गर्दा पानीका प्रणालीहरू प्रभावकारी रूपमा काम गर्छन्, वर्षभरि स्वच्छ पानी उपलब्ध गराउँछन् । पानीका स्रोत सफा र मर्मत गर्दा भूमिगत पानी पुनःभरणमा मद्दत पुर्‍याउँछ ।

सचेतना अभिवृद्धिका हिसाबलेः सिथी नखः पानी संरक्षण र व्यवस्थापनको महत्वबारे सचेतना अभिवृद्धि गर्ने शैक्षिक अवसर पनि हो । यस दिन गरिने पोखरी र तालहरूको सफाइले पारिस्थितिक सन्तुलन कायम राख्न मद्दत गर्छ । पानीका स्रोतमा लामखुट्टे र अन्य किरा फट्याङ्ग्राहरूको प्रजनन स्थल नबन्ने सुनिश्चित गर्छ ।

आधुनिक दिनको सान्दर्भिकता
सिथी नखः मुख्यतया धार्मिक दृष्टिकोणबाट महत्वपूणर् वातावरणीय र सामाजिक महत्व बोकेको विकसित पर्व हो । यस पर्वका अवसरमा इनार, पोखरी, र हिति (ढुंगेधारा) जस्ता पानी स्रोतहरूको सरसफाइ गरिन्छ । ती ठाउँमा जमिरहेको फोहोर, बालुवा, घाँसपात, लेउ, जलकुम्भीहरु निकालेर सफा गरी वर्षायामका लागि तयारी गर्ने परम्परा निकै नै वैज्ञानिक मान्न सकिन्छ । यो अभ्यास निकै व्यवहारिक पनि देखिन्छ । किनभने विशेष गरी मनसुनको सुरुवातमा सफा पानी समुदायको स्वास्थ्यका लागि अत्यावश्यक छ । शहरीकरण र आधुनिक चुनौतीबीच यस पर्वको अवसरका गरिने सरसफाइ पानी सुरक्षाको सन्दर्भमा अझ सान्दर्भिक बनेको छ ।

शहरीकरण र वातावरणीय चुनौतीहरू
द्रुत शहरीकरण र वातावरणीय चुनौतीहरूका कारण, सिथी नखःका अभ्यासहरूले अझ बढी महत्व प्राप्त गरेको छ । पानीको प्रदूषण, फोहोर व्यवस्थापन र घट्दै गइरहेका पानीका स्रोतहरू जस्ता समस्याहरूले यो पर्वको सरसफाइ र पानी सुरक्षामा केन्द्रित हुनलाई अति सान्दर्भिक बनाएको छ । शहरी क्षेत्रहरूमा, जहाँ पानीका स्रोतहरू प्रदूषित भइरहेको छ, यो पर्वका गतिविधिहरूले सचेतना अभिवृद्धि गर्न र दिगो अभ्यासहरू प्रवद्र्धन गर्न मद्दत पुर्‍याउँछन् ।

सामुदायिक संलग्नता र सचेतना
सिथी नखःले सामुदायिक संलग्नता र सचेतना अभिवृद्धिका लागि प्रभावकारी सन्देश प्रदान गर्दछ । पर्वको समयमा आयोजित गतिविधिहरूले मानिसहरूलाई शिक्षित गर्नका लागि भूमिका खेल्दछ । यी गतिविधिहरूले नागरिक जिम्मेवारीको भावना र सफा वातावरण कायम राख्न सामूहिक प्रयासलाई प्रवर्द्धन गर्छन् ।

चुनौतीहरू
यसका महत्त्वका बाबजुद पनि सिथी नखःले केही चुनौतीहरूको सामना गरिरहेको छः
शहरीकरणः द्रुत शहरीकरणले परम्परागत पानी स्रोतहरूको ह्रास निम्त्याएको छ, जसले तिनीहरूलाई मर्मत गर्न कठिन बनाएको छ ।
प्रदूषणः बढ्दो प्रदूषण स्तरले पानी स्रोतहरूको सफाइ सुनिश्चित गर्न कठिन बनाएको छ ।
सचेतनाको कमीः केही क्षेत्रमा, सफा पानी स्रोतहरू कायम राख्न र उचित सरसफाइ अभ्यासहरूको महत्वबारे सचेतनाको कमी छ ।

अवसरहरू
सिथी नखःको प्रभाव बढाउनका लागि केही अवसरहरू पनि छन्ः

सामुदायिक परिचालनः सामुदायिक सदस्यहरू, विशेष गरी युवा पुस्तालाई, पर्वका गतिविधिहरूमा संलग्न गराई परम्परागत अभ्यासहरूको निरन्तरता सुनिश्चित गर्न सक्नुपर्छ ।

प्रविधि एकीकरणः सफा गर्ने र पानी स्रोतहरूको मर्मत गर्ने दक्षता र प्रभावकारिता सुधार गर्न आधुनिक प्रविधिको प्रयोग गर्न सकिन्छ ।

नीति समर्थनः परम्परागत पानी स्रोतहरूको संरक्षणलाई समर्थन गर्ने नीतिहरूको वकालत गर्नु र दिगो पानी व्यवस्थापन अभ्यासहरू प्रवद्र्धन गर्नुपर्छ ।

पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि हरेक वर्षको जुन ५ मा यो वातावरण दिवस मनाउन सुरु गरिएको हो । यस्तै नेपालमा लिच्छविकालदेखि नै पानी संरक्षणको प्रचलन चलिआएको भए पनि आधुनिक विश्वमा भने सन् १९९३ बाट विश्व पानी दिवस माउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९९३ मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाइन्छ । यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका नारा घन्कन्छन् । पानीको स्रोतहरुको संरक्षण र स्वच्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि बहनेसदावहार नदीसँगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हजारौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, विश्वमा दुई अर्बभन्दा बढी मानिस सुरक्षित पिउने पानीबाट बञ्चित छन् । लगभग पौने दुई अर्ब मानिस फोहोर र मानव मल मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब दश लाखजनाको मृत्यु हुने गरेको छ । नेपाली समाजले यो समस्या हजारौं वर्षअघि नै देखेको थियो र पानी सफाइको अभियानलाई धार्मिक मान्यता र संस्कारका रूपमा स्थापित गर्यो- ‘सिथी नखः’ ।

विश्वमा तीव्र गतिमा जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ । तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । तेस्रो विश्वयुद्ध पानीकै लागि हुने सम्भावना समेत बताइन्छ । यस्तो चिन्ताजनक भविष्यलाई मध्यनजर गर्दै, जलस्रोतमा धनी, जैविक विविधताले युक्त नेपालको प्राकृतिक वातावरण जोगाउन र मानव सभ्यतालाई बचाउन चाडपर्वहरुको संरक्षण, प्रवद्र्धन र वैज्ञानिक पक्षहरूको प्रचारप्रसार आवश्यक छ ।

तसर्थ, सिथी नखःले धार्मिक महत्व मात्रै नभई पानीको स्वच्छता र संरक्षणमा समेत जोड दिइएको छ । पानीका स्रोतहरूको सरसफाइ र व्यवस्थापनमा सामूहिक प्रयास गर्ने परम्परा यस पर्वको विशेषता हो । संस्कृति, परम्परा र धार्मिक आस्थाले सिथी नखःलाई महत्वपूणर् बनाएको छ साथै यसले हामीलाई पानीको संरक्षण र स्वच्छताको महत्व बुझाउँदै मानव जीवन र पर्यावरणको दिगो व्यवस्थापनमा प्रेरित गर्दछ । हाम्रो संस्कृति र परम्पराले जल स्रोतहरूको संरक्षण र स्वच्छतामा सामूहिक प्रयासको महत्वलाई प्रस्ट पार्छ ।

२ असार २०८१