तातो हावाले भरिएको बेलुनमा ९ हजार फिटमाथिसम्मको उडान


पवन मान गुभाजु पोखरा । २४ फाल्गुन २०८१

विशाल आकारको बेलुन, बेलुनमा रकेटमा आगो लगाइएजस्तैको दृश्य। सोही बेलुनमा बसेर उडान भर्दाको स्वर्गीय आनन्द, साथमा विभिन्न ताल तथा हिमशृङ्खलाहरूको मनोरम दृश्यावलोकन।

पोखरामा पुगेका प्रायजसोको मन लोभ्याउँछ यो दृश्यले । पोखरामा सञ्चालित नेपालको एकमात्र हट एयर बेलुन पछिल्लो समय लोकप्रिय बन्दै गएको साहसिक खेल हो । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गर्न पोखरा पुगेका जोकोही लालायित हुन्छन्।

जमिनको सतहबाट ९ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दाको त्यो रोमाञ्चक अनुभव बयान गर्न सायदै सकिएला । यसअघि जमिनको सतहबाट ३ हजार फिटसम्म मात्रै उडान गर्दै आएको बेलुन नेपालले पर्यटकलाई थप थ्रील र उत्साह दिनकै लागि उचाइ थप गरिएको बेलुन नेपालका निर्देशक बिबि ढकाल बताउँछन् ।

हट एयर बेलुनमा उडान भर्दै गर्दा पोखरा शहर, विभिन्न तालहरू, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । समय अनुसार सूर्योदय र सूर्यास्त समेत नियाल्न सकिनेछ।

बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ। तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन्।

कम्पनीका अनुसार, निकै माथिसम्म हट एयर बेलुनमा उडान गरिने भएकाले हातमा पञ्जा र शीरमा टोपीसहितको न्यानो कपडा लगाउन उत्तम हुन्छ। साथै हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ।

हट एयर बेलुन आधा घन्टा उडानको नेपाली पर्यटकले ११ हजार रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ। भारतीय तथा सार्क मुलुकका पर्यटकलाई एक सय २० डलर तथा अन्य देशका नागरिकका लागि एक सय ५० डलर शुल्क राखिएको छ।

२४ फाल्गुन २०८१