नेपाल उद्योग वाणिज्य महासङ्घले होटल तथा पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मान गरेको छ । आइतबार काठमाडौँमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा तारागाउँ रिजेन्सी होटललाई सम्मानपत्र प्रदान गरेका हुन् ।
महासङ्घले गत चैत २८ मा सम्पन्न ५९औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्थालाई सम्मान गर्ने निर्णय थियो । सो सम्मान आज एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको हो ।
महासघंले प्राविधिक समितिको सिफारिसका आधारमा महासङ्घको ५९ औँ वार्षिकोत्सवको अवसर विभिन्न क्षेत्रमा बढी कर तिर्ने संस्थाहरूलाई सम्मान गरेको हो ।
पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने होटलका रूपमा यसअघि पनि होटलले विभिन्न सम्मान प्राप्त गरिसकेको छ । होटलले यसअघि आर्थिक वर्ष २०७१/७२, आव २०७३/७४, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ। होटललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गरेबापत २०७६ मा सम्मानित गरेको थियो।
कूल ३०३ कोठाको नेपालकै सबैभन्दा ठुलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो।
नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ एन्ड पर्यटकमार्फत महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। होटलले हाल करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन्।
१० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० मा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको थियो।