बागमतीका पत्रकारलाई पर्यटन पत्रकारिता तालिम


टुरिजम पाना काठमाडौं । ११ चैत्र २०७९

बागमती प्रदेशका १९ पत्रकारलाई पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको आयोजनामा सिन्धुपाल्चोक र नुवाकोटको सीमा चिसापानीमा शुक्रबार र शनिबार दुई दिन तालिम सञ्चालन गरिएको हो ।

मुलुकको आर्थिक स्थिति मजबुत बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण रहेकाले प्रचार–प्रसारलगायतबाट यसमा सहयोग पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका सचिव युवराज पुरीले जानकारी दिए ।

शनिबार समापन कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटकलाई आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताए । उनले पर्यटनका लागि प्रशस्त सम्भावनाका क्षेत्र रहे पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउँदै त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारलाई आग्रहसमेत गरे ।

तालिममा बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेश समितिले पत्रकारका लागि समाजिक सुरक्षा कोष कार्यक्रम अघि बढाएको जानकारी दिँदै पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

तालिमले अझै पर्यटन पत्रकारितामा लाग्न प्रेरणा र थप ऊर्जा मिलेको तालिमका सहभागी काभ्रेका ज्योति श्रेष्ठ र चितवनका अपिल अधिकारीले बताए ।

११ चैत्र २०७९