दोर्दी गाउँपालिकाले कृषि तथा पर्यटन क्षेत्रको समग्र विकास र दीगो समृद्धिको सम्भाव्यता पहिचान गर्नका लागि बेलायतमा आधारित संस्था नेपालयसँग विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी क्षेत्रको समृद्धि सम्भावना कृषि र पर्यटनको उचित समायोजनबाट सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे । जलवायु परिवर्तनका कारण कृषकहरूले भोगिरहेका समस्या समाधानका लागि दीगो र वैज्ञानिक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
नेपालय संस्थाका संस्थापक तथा बेलायत निवासी Carolying Mails ले दोर्दी क्षेत्रमा कृषि र पर्यटनलाई एकीकृत गर्दै दीर्घकालीन विकास परियोजनाहरू सञ्चालन गर्न संस्था इच्छुक रहेको जानकारी गराए । जलवायु अनुकूल कृषि अभ्यास, जैविक उत्पादन, स्थानीय स्तरमा आधारित पर्यटन प्रवर्द्धनका सम्भाव्यता तथा संस्थागत साझेदारीका विभिन्न आयामबारे प्रस्तुति दिए ।
कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, जनप्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
अन्तर्क्रिया कार्यक्रमपछि नेपालय संस्थाका प्रतिनिधिहरूले दोर्दी गाउँपालिकाको शेरा, बन्सार, सिमी लगायतका सम्भाव्य क्षेत्रहरूको स्थलगत अवलोकन समेत गरेका थिए।