व्यास नगरपालिकाको पर्यटन र सम्भावना


टुरिजम पाना तनहुँ । २ मंसिर २०७९

सेती र मादी नदीको किनारमा रहेको व्यास क्षेत्र धार्मिक दृष्टिले बढी महत्वपूर्ण स्थल हो । साथै यहाँ स्थानीय कला, संस्कृतिको धनी व्यास क्षेत्रमा धेरै पर्यटकीय गन्तव्य रहेका छन् ।

चुड्का, घाटु र कौरा यहाँका लोक नृत्यका लागि यो ठाउँ विशेष परिचित छन् । यहाँ धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्रहरुमा छाब्दि बाराही, घुटुक्दी बराह, निर्बु बराह, चम्रे ओडार, व्यास गुफा, कालिका मन्दिर, शिवपाञ्चायन मन्दिर, पराशर गुफा, अनन्त गुफा, गलेखामकोट, मानुङकोट, क्यामिनकोट, पुलिमराङ र तनहुँसुर दरबार रहेका छन् ।

यीबाहेक भानुघाँसी स्मारक पार्क, गणेशमान पार्क र सहिद कालिका पार्क पनि व्यास क्षेत्रमा पर्छन् । योसँगै नेपालकै पहिलो दलित होमस्टे व्यास नगरपालिकाको वडा नंं. १३ मा अवस्थित छ । काठमाडौंदेखि पोखरा जाने बाटोमा पर्ने दमौली बजार र यस आसपासका क्षेत्रमा गुणस्तरीय होटलहरु पनि रहेका छन् जसले यस नगर पुग्ने पर्यटकको बसाईलाई सहज बनाउँछ ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले विभिन्न योजनाहरु बनाएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक स्थलहरुको प्रवद्र्धन गर्नका लागि कानुन निर्माण गरी कार्यान्वयन गर्ने, विभिन्न भञ्ज्याङ्ग तथा टाकुराको विकासका लागि टाकुरा सञ्जाल गठन गर्ने, मादी नदीमा ताल निर्माण गर्ने योजना बनाएको न्यौपानेले बताए ।

यसबाहेक नगरभित्रका होटल तथा होमस्टेलाई पर्यटकमैत्री बनाउने, स्तरीय होटल सञ्चालनका लागि प्रोत्साहन गर्ने, व्यास १० स्थित दुम्सिचौरमा नारेश्वर ताल निर्माण गर्ने, भानुघाँसी स्मारक पार्कलाई व्यवस्थित बनाउने, तनहुँसुरलाई केन्द्र बनाएर भानु शान्ति निकुञ्जबाट तयार पर्यटन गुरुयोजनालाई कायान्वयन गर्दै लैजाने नगरपालिकाको योजना छ ।

नगरपालिकाले आर्थिक विकासका लागि ४ करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार र पूर्वाधार निर्माणका लागि ४५ करोड ५८ लाख ७५ हजार रकम छुट्याएको छ । यही बजेट शिर्षकअन्तर्गत पर्यटन प्रवद्र्धनका कार्यक्रम गरिने नगरपालिककी उपप्रमुख इन्दिरा दरैले जानकारी दिईन् ।

छाब्दी बाराही मन्दिर, मानुङकोट र व्यास गुफा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बाक्लै हुने गरे पनि कोरोना महामारीका कारण पर्यटकको संख्यामा केही कमी आएको नगरपालिकाले जनाएको छ ।

२ मंसिर २०७९