पोखरा उडान भर्ने तयारीमा सौर्य एयरलाइन्स


टुरिजम पाना काठमाडाैं । २ मंसिर २०७९
sourya airlines

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सौर्य एयरलाइन्सले पहिलोपटक पोखरा उडान गर्ने तयारी गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सौर्यले जेट विमानमार्फत उडान गर्ने मौखिक जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

‘अहिले मौखिक जानकारी गराएका छौं, प्राधिकरणले निर्वाचन पछि आउनु भनेको छ, त्यसपछि लिखित प्रक्रिया अगाडि बढाउँछौं’, खनालले भने । पोखराको आन्तरिक विमानस्थलको धावनमार्ग सानो भएका कारण अवतरणका लागि जहाज एप्रोच नपुग्ने भएकाले अहिलेसम्म सौर्यले पोखरामा उडान गर्दैनथ्यो ।

५० सिट क्षमता भएको बम्बाडिएर कम्पनीको क्यानेडियर रिजनल जेट विमानले अहिले भैरहवा, धनगढी, विराटनगर र भद्रपुरमा उडान हुँदै आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि क्यालिब्रेसन फ्लाइट हुँदैछ । क्यालिब्रेसन फ्लाइटपछि सौर्यले एउटा परीक्षण र त्यसलगत्तै नियमित उडान गर्नेछ । सौर्यको हवाइ भाडा पनि अन्य एयरलाइन्सको सरह नै हुने बताइएको छ ।

साैर्यसँग भएकाे ३ वटा जेट विमानमध्ये २ वटा विमान उडिरहेकाे खनालले जानकारी दिए ।

२ मंसिर २०७९