नेवारी आर्किटेक्ट जोगाइ राखेको पुरानो नेवार बस्ती बन्दिपुरमा नेवारी सँस्कृती पनि जिवन्त छन् । आफ्नो परम्परालाई निरन्तरता दिंदै श्रीकृष्ण जन्मास्टमीमा नेपाली पर्यटनको उत्कृष्ट ‘हिल स्टेसन’ बन्दिपुरमा रोपाइँ जात्रा र सोको होपाचा सम्पन्न भएको छ ।
रोपाइँ जात्रा निकाल्नु अगाडि स्थानीयहरू विभिन्न भेषमा सजिएर व्यंग्यात्मक शैलीमा प्रस्तुत भएर गाउँ टोल घुम्दै होपाचा गरिन्छ । होपाचाको अर्थ कटुवाल लगाउनु अर्थात् चर्को स्वरमा गाउँलेलाई खवर गर्नु भन्ने हुन्छ । यसरी होपाचा गरेर रोपाइँ जात्राको निम्तो दिइन्छ ।
बिहानमा बाजागाजा सहित स्थानियले बन्दिपुर बजार क्षेत्रका घर-घर पुगेर होपाचा गतेपछि दिउँसो करिब ३ बजे बाट रोपाइँ जात्रा सुरु हुन्छ ।
युवा युवतीहरू दिउँसोमा हलो जोत्दै घर घरमा पुग्छन् । कोहि गोरु बन्छन् भने कोहि कोदाले अनि कोहि हलि ।
घर-घरबाट राधा कृष्ण बनाएर बालबालिकालाई निकालिन्छ । नेवार समुदायले समन्वय गरे पनि बन्दिपुरका सबै समुदाय जात्रामा समावेश भएर जात्राको रौनकता बढाउँछन् ।
तिनधारामा रहेको राधाकृष्ण मन्दिर पुगेर पुजा गरेपछी जात्रा अगाडि बढ्छ । नौमती बजासँगै नाच्दै गाउँदै सबैजना रमाइलोमा आल्हादित हुन्छन् ।
कसैले डोको/थुन्सेमामा बीउ बोकेका हुन्छन् त कोहि बाजाको तालमा बीउ रोपेको अभिनय गर्दै नाच्छन् ।
बिन्ध्यवासिनी मन्दिर प्राङ्गणमा बिउको भकारी बनाइएको हुन्छ । बिउको मुठाहरूलाई मिलाएर बनाइएको भकारीको पुजा जात्रा गतिविधिको अन्तिम चरण हो ।भगवान श्रीकृष्णको जन्म मध्यरातमा भएकालेभकारीपुजामध्यरातमागरिन्छ
भकारी पुजा गरेपछि एक अर्कालाई हिलो माटो लगाएर जात्रा समापन गरिन्छ । आफ्नो धर्तीलाई सम्मान गर्दै माटोको टीका लगाइने नेवारी सँस्कृतीका अभियन्ता किसन श्रेष्ठले जानकारी दिए ।
नेवारी कला र शैलीले परिचीत बन्दिपुरमा नेवारी सँस्कृती संरक्षण गर्न स्थानियको भुमिका प्रशंसा योग्य रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा बताउँछन् ।