आहा ! आबुखैरेनीको ऐनापहरा

पहरामा कला भरेर पर्यटकलाई आकर्षित गर्ने रणनीति


विष्णुकान्त घिमिरे आबुखैरेनी, तनहुँ । २० भाद्र २०८०

तनहुँ आबुखैरेनीको ऐनापहरा झरना पछिल्लो समय निकै चर्चित बन्दै गइरहेको छ । आन्तरिक पर्यटकको घुइँचो लाग्ने यहाँको पहरामा कला भरेर गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाएको छ ।

ऐनापहरा पहाडलाई नै कलामा बदल्ने काम भइरहेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले भने,‘ प्राकृतिक रुपमै गणेशको जस्तो आकृति थियो, त्यसलाई कला भरेर गणेशको बनाइएको छ ।’

यस्तै पालिकाले आधुनिक कलाका रुपमा ऐना पहरामै आमाले छोरालाई ममता प्रकट गरिरहेको र परीको चित्र खोपिएको छ । त्यहाँ पुगेका पर्यटकहरू प्रकृति र कलाको सामिप्य महशुस गर्दै आनन्दित हुन पाउनेछन् ।

यसबाहेक गाउँपालिकाले ऐना पहरा झरनासम्म जानका लागि आवश्यक पूर्वाधार तयार पार्न लागेको छ । जसमा झरनासम्म पुग्नका लागि सिँढी बनाउने काम भइरहेको छ । यस्तै सो क्षेत्रमा पर्यटकको सहजताका लागि शौचालय, टिकट काउन्टर लगायत पुर्वाधार निर्माणको काम भइरहेको छ ।

पृथ्वी राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुलाई त्यहाँ बसेर मनोरम झरनामा मज्जा लिने वातावरण मिलाउन गाउँपालिकाले काम गरिरहेको हो ।

सडक देखि मुर्ति अवलोकन गर्ने स्थान सम्म पुग्न सिँढी निर्माणका गरिएको छ । गाउँपालिकाले अब छिट्टै टिकट लिएर प्रवेश गराउने योजना बनाएको छ ।

गाउँपालिकाअध्यक्ष शुक्र चुमान

 

पालिकाले सो क्षेत्रमा सवारी साधनको पार्किङ व्यवस्थापनका लागि तीन विकल्प अगाडि सारेको छ । पहिलो विकल्प अनुसार, त्यहीँ २० वटासम्म सवारी साधन पार्क गर्ने व्यवस्था मिलाइनेछ । यसपछि बाँकीलाई एक किलोमिटर आसपासको दूरीमा पार्किङ स्पेस बनाएर व्यवस्थापन गरिनेछ भने अर्को झरनासम्म जान आँबुखैरेनी स्टेसन बनाइ सवारीसाधन त्यहाँ पार्किङ गराउने र त्यहाँबाट झरनासम्म जान साना सवारीसाधनको व्यवस्था गरिनेछ ।

गाउँपालिकाले ऐनापहराको पुर्ण विकासका लागि करिब पाँच वर्ष नै लाग्ने अनुमान गरेको छ । योजनालाई पूर्ण सम्पन्न गर्नका लागि प्रदेश र संघ सरकारसँग समेत गाउँपालिकाले सहयोग मागेको अध्यक्ष बताउँछन् ।

२० भाद्र २०८०