बाघ, जसको गर्जनले जंगल हल्लाउँछ, ऊर्जा र साहसको प्रतीक बनेर आफ्नो अस्तित्व देखाउँछ, त्यही शक्तिशाली प्राणीलाई कहिलेकाँही खोरमा पनि थुन्नुपर्ने अवस्था आउँछ ।
शक्ति, स्वतन्त्रता र साहसको प्रतीक बाघ किन खोरभित्र छ ? यो प्रश्नको परिधिमा देखिने दृश्य धुमिल मात्र हुन्छ, तर साँचो चित्र भने मानव र वन्यजन्तु द्वन्द्वको हो । बढ्दो सहरीकरण, वन फँडानी तथा अतिक्रमणका कारण बाघलगायतका वन्यजन्तुको बासस्थान क्षयीकरण हुँदै गएको छ ।
बाघको जीवनसँग मानिसको मनोविज्ञान गाँसिएपछि स्वतन्त्रता र सुरक्षा बीचको द्वन्द्व अनिवार्य बनेको छ । बाघ आहाराका लागि भौतारिनुपर्ने अवस्था आउँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न थाल्छ । यसरी आहारको खोजीमा मानव बस्तीसम्म आइपुग्ने क्रममा जोखिम बढी हुने भएकाले खोरमा थुन्नुपर्ने बाध्यतात्मक अवस्था आएको हो । यसरी उत्पन्न हुने द्वन्द्व समाधान गर्न नेपाल सरकारले समस्याग्रस्त बाघलाई नियन्त्रण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । खास गरी मानवलाई आक्रमण गर्ने, पशुपालनलाई नोक्सान पुर्याउने बाघलाई समस्याग्रस्त बाघ भनिन्छ ।
अहिले नेपाल सरकारको अधिनमा सदर चिडियाखानाका ४ सहित १६ वटा बाघ खोरमा छन् । खोरमा राखिएका सबै बाघ समस्याग्रस्त भने होइनन् । केही बाघ चिडियाखानाभित्रै पनि जन्मिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेद कुमार ढकालका अनुसार समस्याग्रस्त भनिएका बाघलाई खुला रुपमा छाड्दा थप जोखिम निम्त्याउने सम्भावना भएकाले जोखिम न्यूनीकरणका लागि खोरमा राखिएको हो ।
उनका अनुसार खोरमा राखिएका बाघ सजायका लागि नभएर संरक्षणका लागि खोरमा राखिएको हो । बाघलाई सुरक्षित रूपमा नियन्त्रित अवस्थामा राख्दा उसको प्रकृति अनुसारको व्यवहार नियन्त्रण गर्न सजिलो हुन्छ । ढकाल भन्छन्, ‘जब बाघ समातिन्छ, तब थुनिन्छ । त्यसपछि सरकारको निगरानीमा हुन्छ । उसलाई सरकारले नै पाल्छ । नमरुन्जेल सरकारले खुवाउँछ, राख्छ र औषधोपचार पनि गर्छ ।’
यसरी खोरमा राखिएका बाघलाई सरकारले पर्यटन र अर्थतन्त्रसँग जोड्ने तयारी गरेको उनको भनाइ छ । उद्धार अनुसन्धान केन्द्रमार्फत मानिसहरुलाई बाघ हेर्न जाने वातावरण बनाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।
ढकालका अनुसार सबै बाघलाई सधैभरी थुनेर राख्ने भन्ने हुँदैन । कहिलेकाँही स्थानान्तरण पनि गरिन्छ । स्थानान्तरणमार्फत बाघलाई पुनः प्राकृतिक आवासमा फर्काउन मद्दत पुग्छ । तर यो सधैँ सफल नहुनसक्छ । स्थानान्तरण गरेपछि पनि उही व्यवहार देखाएमा उसलाई सुरक्षित आवासका लागि खोरमा थुन्नुको विकल्प हुँदैन ।
बाघ थुन्नुको अर्थ मानिसको जीवनलाई सुरक्षित बनाउनु मात्रै नभइ उसको सुरक्षाका लागि पनि भएको उनको तर्क छ । तराई आर्क परिदृश्य परियोजना अन्तर्गत, चितवन, बर्दिया र शुक्लाफाँटामा संरक्षित क्षेत्रहरूलाई भारतसँग जोड्न, बाघलाई सुरक्षित पार्न, र वासस्थान व्यवस्थापनलाई सुदृढ पार्न कोरिडोरको विकासमा केन्द्रित भएको छ।
यो परियोजना पूर्वमा नेपालको बागमतीदेखि पश्चिममा भारतको यमुना नदी सम्म फैलिएको छ । यसले १६ वटा संरक्षण क्षेत्रलाई जोडेको छ । यो परियोजनामा, बाघको संख्या बढाउन र उनीहरूको जीवन सुरक्षित राख्नका लागि ‘क्याप्चर एण्ड इनक्लोजर’ प्रविधि अपनाइन्छ। यसैको परिणामस्वरूप, बाघको संख्या वृद्धि भएको हो ।
मिथिला वाइल्डलाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल भन्छन्, ‘बाघ संरक्षणको लागि स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण छ। हामीले संरक्षणको नाममा बाघको स्वतन्त्रता माथि हस्तक्षेप गरिरहेका छौँ, त्यसैलाई सन्तुलनमा राख्नुपर्ने पनि आवश्यकता छ।’
संरक्षण प्रयासको एउटा कठोर सत्य के पनि हो भने बाघले आफ्नो प्राकृतिक अधिकार गुमाएर बाँच्नु परिरहेको छ । बाघलाई दीर्घकालसम्म कैद गरेर राख्नु पनि उचित उपाय होइन किनभने यसले उसको जीवनशैली र स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । थुनिएको अवस्थामा उसले खुला रूपमा प्रकृति अँगाल्न पाउँदैन । हिँडडुल गर्न सक्दैन, जसले गर्दा दीर्घकालमा उसको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ।
सन् २०२२ को प्रतिवेदनअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय १३ बाघ छन् भने बर्दियामा एक सय १७, पर्सा राष्ट्रिय निकुञ्जमा ३५, बाँके निकुञ्जमा २३ र शुक्लाफाँटामा २८ वटा छन् ।
सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो बाघ सम्मेलनमा नेपालले बाघ आवास क्षेत्र भएका अन्य १२ राष्ट्रसँग मिलेर सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको थियो । यो महत्त्वाकांक्षी संकल्पलाई नेपालले पूरा गरेको छ ।
सन् २०१० मा नेपालमा एक सय २१ वटा बाघ थिए । यो संख्या २०१३ मा एक सय ९८ पुग्यो भने सन् २०१८ मा दुई सय ३५ पुग्यो । नेपालले आफ्नो प्रतिबद्धता अनुसार सन् २०२२ सम्म बाघको संख्या दुई सय ५० पुर्याउने लक्ष्य राखेकोमा सन् २०२२ को डिसेम्बरमा सम्पन्न अन्तिम गणनामा बाघको संख्या तीन सय ५५ पुगेको देखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत प्रमुख संरक्षित क्षेत्रहरूमा यो बढेको देखिएको छ ।
संरक्षण प्रयास, कानुनी व्यवस्थापन, र समुदायहरूको सहभागिताका कारण यो सफलता मिलेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामको भनाइ छ ।
तर यो उपलब्धि र सफलताले जति गौरवान्वित बनाएको छ उत्ति नै चुनौती पनि थपिएको छ- बाघ र मानिसबीचको सम्बन्धको नयाँ द्वन्द्वको । बाघलाई खोरमा थुन्नु मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनको एउटा अस्थायी समाधान हो । तर दीर्घकालमा, यसले बाघको संरक्षण र हाम्रो प्रकृतिप्रतिको उत्तरदायित्वबारे पनि प्रश्न उठ्छ । त्यसैले संरक्षण प्रयासको अन्तिम लक्ष्य बाघलाई खोरभित्र थुन्नु मात्र होइन, प्रकृतिसँगको उसको बन्धनलाई जोगाउनु पनि हो ।