भारतीय उड्डयन क्षेत्रमा विस्तारा एयरलाइन्सको करिब ९ बर्ष लामो अस्तित्व गत सोमबारदेखि अन्त्य भएको छ । सन् २०१४ मा भारतको टाटा सन्सको ५१ प्रतिशत र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानीमा स्थापना भएको विस्तारा एयरले २०१५ जनवरीबाट सेवा सुरू गरेको थियो ।
नोभेम्बर ११ मा आफ्नो अन्तिम उडान भरेको विस्तारा नोभेम्बर १२ बाट टाटा समूहकै एयर इण्डियामा गाभिएको हो । योसँगै यसअघि विस्तारा एयरका लागि टिकट खरीद गरेका यात्रुले एयर इन्डियाबाट उड्न सुरू गरेका छन् । पूर्वी र मध्य एसिया तथा युरोपमा अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको विस्तारा भारतको पूर्ण सेवासहितको हवाई सेवा प्रदायक थियो ।
विस्तारा र एयर इन्डियाले सन् २०२२ को नोभेम्बर २९ मा एक सम्झौता गरेका थिए । उक्त सम्झौतालाई भारतको कम्पिटिशन कमिसन अफ इन्डिया (सीसीआई) ले २०२३ को सेप्टेम्बरमा अनुमोदन गरेसँगै विस्तार एयर इन्डियामा गाभ्नका लागि बाटो खुलेको थियो । सम्झौताअनुसार एयर इण्डियामा टाटा ग्रुपको ७४.९ र सिंगापुर एयरलाइन्सको २५.१ प्रतिशत हिस्सा कायम भएको छ ।
विस्तारालाई गाभेसँगै एयर इन्डिया समूह बजार साझेदारीका हिसाबले सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय एयरलाइन्स बनेको छ । भारतीय बजारमा भने एयर इन्डियाभन्दा इन्डिगो अगाडि छ ।
एयर इन्डियामा गाभिएसँगै सेवाको स्तरमा असर पार्ने चिन्ता व्यक्त भएपछि एयर इन्डियाले ग्राहकको सेवा र गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाएको छ ।
एयर इन्डियाले विस्ताराले दिँदै आएको अनुभव र सेवा सुविधामा केही फरक नपर्ने बताएका छन् । ‘मर्जर प्रक्रियाको एक भागको रूपमा खाना, सेवा र अन्य सुविधाहरूमा सुधार गरिएको छ । यसमा विस्तारा र एयर इन्डिया दुवैका उत्कृष्ट पक्षहरू समावेश गरिएको छ,’ एयर इन्डियाका प्रवक्ताले बीबीसीसँग भनेका छन् ।
करिब ६ हप्ताअघि न्यून भाडादरका दुई एयरलाइन्स कम्पनी एयर इन्डिया एक्सप्रेस र एआईएक्स कनेक्ट (पहिले एयर एसिया इन्डिया) पनि टाटा समूहमा गाभिएका थिए । भारतमा यसअघि २००५ देखि सेवा सुरू गरेको विजय माल्याको किंगफिसर एयर सात वर्षपछि बन्द भएको थियो । त्यस्तै सुब्रत रोयको एयर सहारालाई पनि नरेश गोयलको जेट एयरमा गाभेर नयाँ नाम ‘जेटलाइट’ दिइएको थियो । जेटलाइट सन् २०१९ मा टाट पल्टिएको थियो ।
मंगलबार विस्तारा एयर गाभिएपछि अब एयर इन्डियासँग जहाजको संख्या तीनसय पुगेको छ । ती जहाजले सयभन्दा बढी घरेलु तथा अन्तरास्ट्रिय गन्तव्यमा सातामा ८ हजार ३ सय उडान भर्ने जनाइएको छ ।
भारतीय सञ्चार माध्यमहरूले विस्तारा एयर एयर इण्डियामा गाभिनु बजार रणनीतिको एक हिस्सा भएको उल्लेख गरेका छन् । यसबाट एयर इण्डियाको ब्राण्ड प्रभावशाली मात्रै भएको छैन, उड्डयन क्षेत्रमा टाटा ग्रुप अझ मजबुत भएको छ । यसअघि ‘क्लब विस्तारा’का सदस्य रहेका ४५ लाख यात्रु स्वत: एयर इन्डियासँग जोडिएका छन् । उनीहरूलाई अब ‘महाराजा क्लब’ अन्तर्गत समावेश गरिएको एयर इन्डियाले जनाएको छ ।
टाटा समूहले सन् २०२६ सम्ममा एयर इन्डियालाई विश्वकै उत्कृष्ट एयरलाइन्स कम्पनी बनाउने योजना अघि सारेको छ । जसअन्तर्गत अर्बौं डलरका नयाँ एयरबस र बोइङ विमानहरूको अर्डर पनि दिइसकेको जनाइएको छ ।
कम्पनीले ७० वाइडबडी जेटसहित ४ सय ७० वटा नयाँ विमान खरीदका लागि सम्झैता गरिसकेको छ । त्यस्तै, विमानका भित्री भाग ‘अपग्रेड’ गर्न तथा ‘१२-बे’ मर्मतसम्भार स्थल बनाउने लगायतका योजनाका लागि टाटा समूहले ४० करोड अमेरिकी डलरको कार्यक्रम घोषणा गरिसकेको छ ।
तर पनि एयर इन्डियालाई ईमिरेट्स र कतार जस्ता आधुनिक जहाजमार्फत सेवा दिने कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न भने त्यति सहज देखिँदैन । यी एयरलाइन्स कम्पनीहरूको तुलनामा एयर इन्डियाका जहाजका सिट र मनोरञ्जनको व्यवस्था निकै पुरानो छ । एयर इन्डियाका जहाजका भाँचिएका सिट र काम नगर्ने मनोरञ्जन प्रणालीबारेका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको देखिन्छ ।
एयर इन्डियाले खराब सेवाबारे यात्रुहरूका गुनासोको सामना गर्दै आएको छ । कम्पनीका जहाजले समयमा उडान भर्न नसक्ने समस्या पनि उस्तै छ । गत अगष्टमा युरोपका १८ प्रतिशत र दक्षिण अमेरिकाका ४८ प्रतिशत उडान मात्रै तोकिएकै समयमा भएका थिए ।
यस्तो अवस्थामा यात्रुको छनोटको पुछारमा रहेको एयरलाइन्सले आफूलाई सुधार गर्दै यात्रुको रोजाइको शीर्ष स्थानमा आइपुग्ला त ? यसको जवाफ भने एयरलाइन्सले अगामी दिनमा दिने सेवा र सुविधाले नै दिनेछ ।