नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने: धुलिखेल जिपलाइन

सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा


उपासना शर्मा धुलिखेल । १८ कार्तिक २०७९
Dhulikhel zipline

खोलाको वारीबाट पारी तर्न लट्ठामा झुन्ड्याइएका तुइनहरू देशबाटै विस्थापित हुँदै गर्दा त्यसैको आधुनिक स्वरुप साहसिक खेल जिपलाइनको लोकप्रियता भने बढ्दो छ ।

शरीरमा हार्नेस बाँधेर क्यारावीनरको मद्दतले लठ्ठा (फलामे डोरी) माथि घिर्नीमा झुण्डिँदै एक ठाउँबाट हावामा कावा खाँदै अर्को ठाउँसम्म पुग्ने साहसिक र रोमाञ्चक खेल हो, जिपलाइन ।

राजधानी नजिकै भएकाले पनि धुलिखेल यसको सहज गन्तव्य बनेको छ । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बन्यो ।

जिपलाइनकै लागि झन्डै १० हजार छुट्याउनुपर्ने समयमा धुलिखेलमा ३ हजारमा फोटो, भिडिओसहित जिपलाइन नै खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको हो ।

क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ३ वर्ष पूरा भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो ।

धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दिनमा सय जनाले सेवा लिन सक्ने जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।

करीब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले करिब ७ करोडको लगानीमा जिपलाइनसँगै रेस्टुरेन्ट, रिसोर्ट र चिल्ड्रेन एडभेन्चर पार्क निर्माण गरेका छन् ।

युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् ।

देशैभर जिपलाइनको लहर

हाइ ग्राउन्ड एड्भेन्चर्सले नेपालको पहिलो जिपलाइन पोखरामा सञ्चालन गरे पनि विदेशी पर्यटक र सीमित नेपालीमा भर परेको थियो । जब धुलिखेलमा जिपलाइन खुल्यो तब देशैभर जिपलाइनको माहोल बन्यो ।

धुलिखेल जिपलाइनको निर्माण पश्चात भेडेटार, मकवानपुरगढी, नुवाकोट, भक्तपुर, सात घुम्ती (त्रिभुवन राजपथ) मा लामो प्रकृतिका जिपलाइन सञ्चालनमा आएका छन् । नगरकोटमा निर्माण सम्पन्न भई सञ्चालनको क्रममा छ ।

पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टार जोड्ने गरि ५ सय ५० मिटर लामो जिपलाइन त्रिशुली नदीमाथि निर्माण गरिएको छ ।

त्यस्तै पृथ्वी राजमार्गको मालिङ्गास्थित त्रिशुली रिभरसाइड रिसोर्टमा नदी वारपार गर्ने गरि २ सय मिटर लामो जिपलाइन सञ्चालनमा छ ।

चन्द्रागिरी हिल्स, झापाको वाटर किङ्डम, लमजुङको स्याङ्गे झरना, सराङ्कोटको केबलकारको टप स्टेसन लगायतका ठाउँमा पनि छोटो दूरीका जिपलाइन सञ्चालनमा छन् ।

जिपलाइनको शुल्कः

क्लासिक २५ सय

सुपरम्यान ३५ सय

टेन्डम (जोडी) जिपलाइन ४ हजार ५ सयमा

१८ कार्तिक २०७९