प्रकृतिसँगकाे सुहागरात !


विष्णुकान्त घिमिरे तनहुँ । १८ कार्तिक २०७९
siddha gufa bandipur

कोलाहल युक्त काठमाडौँ, साथमा मनभरी बेचैनी । कम्पाउण्ड गेट हुँदै घरको मुल गेट, फ्ल्याट र कोठाको ढोकाभित्र थुनिएँ र पनि मस्तिष्कमा कर्कश आवाजहरूले बिथोल्न छाडेनन् ।

बरु पुर्खाले बाँचेको त्यो ढुङ्गे युग नै ठीक थियो होला । जहाँ केही नभए पनि शान्ति त थियो ।

विकासको उच्चतम बिन्दुमा पुगेपछि युग पनि पछाडि फर्केर आफैँलाई हेर्छ रे !

आज कसोकसो दिमागमा त्यो युगबारे अनेकथरी सोच आइरहेको छ । यो भर्चुअल दुनियाँभन्दा टाढा रहन मन लागिरहेको छ ।
त्यो आदिम युगमा पाइला टेक्ने मानिस अहिले त टाइम मशिन बनिसकेको छ ।

त्यो युग पक्कै सरल थिएन नै, जति आज छ । सानोमा स्वस्थानी र पुराणमा ऋषिमुनिले जङ्गलमा हजारौँ वर्ष तपस्या गरेको सुनेकै हो ।

आज म तपाईँहरूलाई त्यस्तै कुनै ठाउँ लैजाँदैछु ।

०००

विश्वका धेरै देशमा ‘केभ लज’ को अवधारणा छ । जहाँ निश्चित रकम तिरेर गुफाभित्र रात बिताउन सकिन्छ । नेपाल पनि ‘एडभेन्चर लभर’हरूको लागि एक उत्कृष्ट गन्तव्य हो । हिमाल चढ्ने लगायत साहसिक पर्यटनका लागि आउने पर्यटकलाई यहाँ रहेका गुफाहरूमा घुमाउन सकिन्छ ।

चार वर्ष अगाडि बङ्गलादेशी साथी अनवर हुसेन चौधरी र मैले केही स्थानीय साथीहरूलाई पनि निम्तो गरेर तनहुँको बन्दीपुरमा अवस्थित एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफामा रात बिताउने योजना बनायौँ ।

साँझ पाँच बजेपछि गुफा बन्द गर्ने चलन छ । तर, गुफामा रात बिताउने भनेपछि गुफा सञ्चालक समितिका अध्यक्ष लालकुमार श्रेष्ठ दाइले हामीलाई अनुमति दिए । लाल दाइले हामीलाई अनुमति मात्रै दिएनन्, हौस्याए पनि ।

गट्टा र चुङ्गी खेल्ने उमेरदेखि नै एड्भेन्चरमा अभ्यस्त लाल दाइकी छोरी सुजनाले टेन्ट, बत्ती लगायतको प्रबन्ध मिलाइदिइन् ।

जाने बेलामा बिदा गर्दै भनिन्, ‘ल दाइ, आजको रात अविस्मरणीय रहोस् ।’

sidhha gufa

मैले पनि ‘धन्यवाद’ भनेँ । साथमा थपेँ, ‘बिहान ७ बजेसम्म हामीले सम्पर्क नगरे स्थिति बुझ्न आउनुहोला ।’ आखिरमा हामी जङ्गलमा बस्न गइरहेका थियौँ ।

मनमा अनेक कुरा खेलिरहेका छन् । घना जङ्गलमा जङ्गली जनावरको आक्रमण होला कि ! सर्पले डस्ला कि ! एकदुई जना साथीलाई फोन गरेँ । आफू सिद्ध गुफा जान लागेको जानकारी गराएँ ।

तर, साथीहरूले भने, ‘बाँचिस् भने सबेरै उठेर फोन गर् है ।’ हौसला देलान् भनेर फोन गरेको थिएँ, साथीभाइले त्रासदी सृजना गरे । हतोत्साहित बनाउने कुरा गरे । हुन त मेरो माया लागेर पनि होला । कुशल रहोस् भनेरै त्यसो गरेका होलान् ।
मैले श्रीमतीलाई पनि जानकारी गराएको थिएँ ।

उनले कुनै पीर लिइनन् । बरु हौसला थपिदिइन् । एडभेन्चर भनेपछि हुरुक्कै हुने आफ्नो श्रीमानको बानी बुझेरै त्यस्तो प्रतिक्रिया दिएकी होलिन् । मनमा डर र चिन्ताले त सताएकै हुनुपर्छ । तर पनि उनको प्रतिक्रियाले हिम्मत बढायो । मेरो आँट र भरोसा भन्नु पनि उनका यस्तै प्रतिक्रिया त हो, जिन्दगीभरका लागि ।

हामी गुफातिर लाग्यौँ ।

बाटोमा भेटिएका ठुर (रूखका हाँगा सुकेर झरेका दाउरा) बटुल्दै हिड्यौँ । भर्खरै मेरा पिक हिमाल चढेर आएको अनवर उकालीमा मभन्दा पनि शिथिल देखिन्थ्यो । शारीरिक र मानसिक दुवै शिथिलता हो भनेर बुझ्न गाह्रो छैन ।

हरियो सुन्तला बगैँचा हुँदै उकालो लाग्दा बाटोमा थकाइ मार्ने पाटी भेटियो । त्यहाँ एकछिन पसिना सुकायौँ । यसपछि उकालो लाग्यौँ । जति माथि गयो, उति नै खुलेको देखिने मस्र्याङ्दी उपत्यका । डुम्रे र विमलनगर बजारको दृश्यले मोहित बनाइरहेको छ ।

हामी उकालो चढिरहेकै छौँ । गुफा पुग्दा झमक्कै रात पर्यो ।

गुफा बाहिर उभिँदा भित्रबाट सरर चिसो हावा आयो । चालिस मिनेटको उकालो चढ्दाको थकान पूरै मेटिए जस्तो भयो । मनै आनन्दित बनायो ।

केही हावाले शीतलता दियो, केहीले पसिना सुकाइरह्यो ।

हामी पसिना सुकेको ज्यान लिएर गुफाभित्र पस्यौँ । करीब दुई सय मिटर हिँडेपछि बैठक कक्ष जस्तै ठाउँ आइपुग्यो । सम्म मिलेको ठाउँ छ । हामीले त्यहीँ टेन्ट लगायौँ ।

र फेरि भित्रतिर बढ्यौँ । करीब पाँच सय मिटर हिँडेपछि गुफाको आकार झनै ठूलो छ । भर्याङको सहायताले तल झर्यौँ । जहाँ सबैभन्दा फराकिलो ठाउँ थियो । यही ठाउँमा त हो, साहसिक खेल र्यापलिङ (डोरीको सहायताले माथिबाट तल झर्ने खेल) समेत सञ्चालनमा छ ।

९६ मिटर अग्लो भीर छ । यहाँ र्‍यापलिङ सुरू गरेको दशक बितिसकेको छ । एक हिसाबले त जुग बितिसकेको भन्दा पनि हुन्छ ।

आफैँले आवश्यक सामग्री लगेर सिद्ध गुफा विकास समितिको अनुमतिमा ¥यापलिङ गर्न पाइने सुविधा छ । भनिन्छ, यहाँको र्‍यापलिङ नेपालकै उत्कृष्ट हो ।

यही गुफामा त हो, ‘देवरबाबु’, ‘यतिको खोजी’, ‘लाखे भाजु’ लगायत दर्जनौँ फिल्मको सुटिङ भएको । फाइट सिनलगायत रहस्यमयी सिन खिच्न गुफा उत्कृष्ट रहेको र यसलाई प्राकृतिक स्टुडियो बनाउन सकिने तर्क छाँयाकार सुसन प्रजापतिले धेरै अगाडि एक बसाइमा मलाई सुनाएका थिए ।

कतै श्रीपेच त कतै भगवान जस्तै आकृति । चुन पग्लेर बनेका यी अद्भुत स्वरुप गुफाका विशेष आकर्षण हुन् । मैले अनवरलाई गुफाको सबैतिर घुमाएँ ।

कतैकतै कसैले पूजाआजा गरेर नरिवल र केरा चढाएका रहेछन् । त्यति पाएपछि के चाहियो र ! भोक लागेको थियो । कसैले श्रद्धाले चढाएको नरिवल र केरा भेटियो ।

नरिवल र केरालाई गुफा बाहिर ल्याएर खायौँ । सानो छँदा ठूलो’बाले भन्नुभएको थियो, ‘जङ्गली जन्तुको डर लागेमा आगो बाल्नु पर्छ ।’ दिमागमा यही कुरा याद आयो । साँझ परेकाले पनि याद भएको होला ।

आगो बाल्ने योजना त थियो । अघि नै दाउरा अलिअलि बटुल्दै हिँडेका पनि थियौँ । त्यतिले पुग्दैन जस्तो लागेपछि सानो टर्च बालेर वरिपरि अझैँ दाउरा खोज्यौँ ।

आगो बाल्ने त गुफाभित्रै हो । तर, गुफाभित्र त चमेरा पनि छन् । आगोले चमेरालाई असर गर्न सक्छ । धुवाँको काँस भित्तामा रहिरहन्छ । यसपछि गुफा बाहिरै आगो ताप्ने सल्लाह भयो । त्यसै अनुरुप तयारी गर्‍याैं ।

फोहोर फाल्न प्रयोग गरिने फलामे ड्रममा दाउरा राखेर आगो सल्काएँ । सुकेको दाउरा भएकाले आगो बलिहाल्यो । अनवर छक्क पर्‍याे । सायद यति छिटो आगो बलेको उसले कहिल्यै देखेको थिएन । ‘बालख’मा हामी बिहानबेलुकी माड पकाउन लमजुङमा आगो बाल्थ्यौँ ।

जिन्दगीको यो तालिम यहाँ काम लाग्यो ।

हामी आगो तापेर बस्यौँ । गफ गरेर बस्यौँ । हामीलाई साथ दिन आउने भनेका साथीहरू नौ बजेतिर आइपुगे– नारायण खड्का, डीपी अधिकारी र सागर गिरी । तलबाट केही खाना पनि ल्याइदिएका रहेछन् । आगो ताप्दै खाना खायौँ ।

आगो त मजाले बलिरहेको थियो । तर, सात बजेदेखि बालेका थियौँ, दाउरा सकियो ।

फेरि दाउरा खोज्यौँ । आगो बाल्यौँ, रातको ११ बजेसम्म । नारायणले सुत्न जाउँ भनिरहेका थिए । सागर भने रातभर आगो ताप्ने, दाउरा आफैँ खोज्ने अडानमा थियो । सायद अघि गुफा उक्लनुअघिको लोकल जुसले उसलाई छाडिसकेको थियो । खासमा उसको हिम्मत कमजोर भइसकेको थियो ।

Bandipur Ghufaमध्यरातमा हामी गुफाभित्र सुत्न लाग्यौँ ।

अनवर र म एकातिर एउटा टेन्टमा । अर्कोमा सागर, नारायण र डीपी । म एकसरो म्याटमाथि स्लिपिङ ब्यागमा लमतन्न छु । आफ्नै झोलाको सिरानी छ । आफ्नै रहर र योजनामा आएकोले होला, सम्भवतः यहाँ म सबैभन्दा खुशी छु ।

एडभेन्चरमा थ्रील हुन्छ, डरसँगै रोमाञ्चकता पनि हुन्छ । रात बिताउन मानिसहरू गद्दा र पलङ खोज्छन् । मलाई भने यस्तो खालको बसाइ खुब मनपर्छ । यस्तो किसिमको बसाइमा आनन्दित हुन्छु, रोमाञ्चित हुन्छु । अझ भनौँ, थोरै डरसँगै हर्षविभोर हुने गर्छु ।

……

बिहान करिब ६ बजेतिर निन्द्रा खुल्यो ।

ब्युँझिएपछि गोडामा पानीझैँ चिसो महसुस भयो । कताबाट पानी छिरेछ ? पहरा रसाएर थोपा तप्किएका होलान् । टेन्टबाट बाहिर निस्केर हेरेँ । कतै केही चिसो छैन ।

कस्तो अचम्म । मनमा कताकता डर लाग्यो । फेरि टेन्टमा छिरेर हेरेँ । अनि पो थाहा भयो, हिजो सागरले पानी पिएपछि बोतलको बिर्को राम्ररी नलगाइ छोडेको रहेछ ।

लामो सास फेरेँ ।

म उठेपछि सबैको निद्रा भङ्ग भयो । सबैको अनुहारमा युद्ध जितेजस्तो खुसी छ । म झनै मख्ख छु । यस्तो आनन्द जिन्दगीमा असाध्यै थोरै पटक मात्रै प्राप्त हुन्छ । त्यही आनन्द महशुस गर्दैछु म ।

मुस्ताङमा गुफा भित्रको ‘केभ रुम’ लोकप्रिय : शुल्क कति ? कसरी बुकिङ गर्ने ?

१८ कार्तिक २०७९