भनिन्छ, मानिसहरू जंगली युग पार गर्दै अहिलेको आधुनिक युगसम्म आइपुगेका हुन् । विगतमा हाम्रा पुर्खाहरू गुफामा बस्थे भन्ने कुरा सुन्दा अहिले पनि अचम्म लाग्छ । इतिहास बनेका यस्ता कुराहरूलाई आधुनिक युगका मानिसहरूले अनुभव गर्न चाहन्छन् तर कारणवस सम्भव भने हुँदैन ।
हाम्रा पुर्खाले भोगेका कतिपय कुराहरूलाई पुनर्जिवित गर्न सम्भव हुँदैन भने कतिपय कुरालाई केही हदसम्म पुनर्जिवित बनाउने प्रयास गर्न सकिन्छ । यसैलाई आधार बनाएर आधुनिक युगमा थोरै भएपनि परापुर्वकालको झल्को दिनका लागि ‘शेलकर गेष्ट हाउस’ ले ‘केभ रुम’ अर्थात ‘गुफा कोठा’ सञ्चालन गर्दै आएको छ ।
चिसो याममा मनाङ, मुस्ताङ घुम्न जाने पर्यटकको संख्या वढी नै हुन्छ । यसरी त्यस ठाउँमा पुग्नेहरुमध्ये केहि यो गेष्ट हाउसमा पुग्छन् । कतिपय पर्यटकहरू प्रकृतिमा रमाउनकै लागि ‘शेलकर गेष्ट हाउस’ पुग्छन् भने केहि यहाँ रहेको ‘केभ रुम’ मा रमाउन । मुस्ताङको छोसेर, लोमान्थाङ्ग–१ मा रहेको यो गेष्ट हाउसलाई पेमा ग्युर्मे गुरुङले सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा जन्मेका उनले सन् २०१२ मा आफ्नै जन्मथलोमा पर्यटन व्यवसायमा केही गर्छु भन्दै शेलकर गेष्ट हाउस सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
सुरुमा सामान्य कोठाहरू बनाइ सञ्चालनमा ल्याइएको उक्त गेष्ठ हाउसमा २०१८ मा केभ रुम निर्माण गरिएको उनी बताउँछन् । ‘पहिला ३ कोठा, १ किचेन र १ डाइनिङ हल निर्माण गरि सामान्य गेष्ट हाउसको रूपमा यो सञ्चालनमा ल्याएँ । पछि ३ वटा केभ रुम र एउटा म्युजियम पनि थपेको हो,’ उनी भन्छिन् ‘केभ रुम सञ्चालनमा ल्याएपछि विदेशी पर्यटकहरूको आगमन बढेको छ ।’
पेमाका अनुसार, उनका पुर्खाहरू अहिले सोही गेष्ट हाउस भएकै स्थानको गुफामा बस्थे । कालान्तरमा मानिसहरू घर बनाइ बस्न थालेपनि सो गुफाहरू भोगचलानी गर्दै सामान राख्ने स्टोर रुम बनेका थिए । त्यसलाई सदुपयोग गर्ने र ग्राहकलाई नयाँ अनुभव दिने सोचले उनले सो गुफाहरूलाई केभ रुममा परिणत गरे । पर्यटकहरूको थप आकर्षणका लागि म्युजियम समेत बनाएको उनी बताउँछन् । जहाँ विगतमा आफ्ना पुर्खाले प्रयोग गर्ने सामाग्री, हिमाली भेगमा प्रयोग हुने बस्तुहरू, विगतमा टेकिङमा प्रयोग हुने वस्त्र र सामाग्री लगायतका सामानहरूको प्रदर्शन गरेका छन् ।
सो म्युजियम प्रवेशमा ३ समय रुपैयाँ तोकिएको छ भने केभ रुममा बसेका पर्यटकहरूका लागि निशुल्क गरिएको उनी बताउँछन् । केभ रुममा बस्ने ग्राहकहरूलाई प्राकृतिक अनुभव दिनकै लागि त्यहाँ वेड र केही आधारभुत सामाग्री मात्र राखिएको उनी बताउँछन् । सो कोठाबाट हिमालको मनोरम दृष्यलाई पनि नजिकैबाट अवलोकन गर्न सकिने उनी बताउँछन् ।
‘यहाँ नेपालीभन्दा पनि विदेशी ग्राहक नै बढी आउँछन् । उनीहरूको पहिलो रोजाइ नै केभ रुम हुने भएकाले प्राय दैनिक ५/७ जना हुन्छन्,’ उनी भन्छन् ‘केभ रुमका लागि ३ हजार रुपैयाँ (पर नाइट) र सामान्य रुमका लागि एक हजार २ सय (पर नाइट) शुल्क तोकिएको छ ।’
केभ रुममा ग्राहकको आकर्षण बढेकै कारण केही समयमा यस्ता रुमहरू थप्ने र म्युजियमलाई पनि थप आकर्षित बनाउने उनको योजना छ । ‘हामीले यस ठाउँमा थप केभ रुमहरू बनाउनुका साथै आफ्नो पुर्खाको दैनिकीलाई प्रोमोट गर्न सक्यौँ भने थप विकास हुने सम्भावना बढी छ ।
‘मैले मेरो पुर्खाले भोगचलानी गरेको गुफालाई केभ रुम बनाएँ । तर यहाँका धेरै गुफाहरूको अझैपनि सदुपयोग हुन सकेको छैन । यसलाई सदुपयोग गर्न सक्यौँ भने मुस्ताङको पर्यटन व्यवसायमा थप विकास गर्न सहज हुन्छ,’ पेमा थप्छन् ।
बुकिङका लागि सम्पर्क : +९७७९८६७७००९३७/ +९७७९७४६७०७९५६ इमेल: [email protected]