नेपाल र भुटानका रोटेरियनहरुको ३ दिने महासम्मेलन चैत ८ गतेदेखि 


टुरिजम पाना काठमाडौँ । ४ चैत्र २०८१

विश्वका २३० देशमा सञ्जाल फैलिएको सामाजिक संस्था रोटरीको डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटानको डिस्ट्रिक्ट कन्फेरेन्स यही चैत ८ गतेदेखि ३ दिनसम्म ललितपुरको मल्टी भेन्यु द प्लाजामा आयोजना हुने भएको छ ।

महासम्मेलनमा नेपालका १५७ र भुटानका एक गरी १५८ क्लबका १५ सयभन्दा बढी सदस्यहरू सहभागी हुने रोटरीको डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले जानकारी दिए ।

कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरूद्वारा विभिन्न सत्र सञ्चालन गरिनेछ । कार्यक्रममा  डिस्ट्रिक्ट प्रतिवेदन र भावी योजनाबारे छलफल हुनेछ ।

कार्यक्रमले रोटरी वर्ष २०२७/२८ का लागि डिस्ट्रिक्ट गभर्नरको चयन समेत गर्ने कन्फेरेन्स चेयर मधुसूदन आचार्यले जानकारी दिए । रोटरी डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर सन्तोष रिजाल, सञ्जय गिरी, गभर्नर नोमिनी विष्णु बहादुर कार्की लगायतले पत्रकार सम्मेलनमा मिडियाकर्मीहरूको जिज्ञासाको जवाफ दिएका थिए ।

रोटरीले पोलियो उन्मुलनलगायत स्वास्थ्यसम्बन्धी परियोजना, स्वच्छ खानेपानी र वातावरण, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । सन् १९०५ मा अमेरिकाबाट सुरु भएको रोटरी क्लब नेपालमा सन् १९५८ देखि सुरु भएको हो । हाल नेपालमा करिब ६ हजार जना रोटरी क्लबमा आबद्ध छन् ।

 

 

४ चैत्र २०८१