पर्यटकीय ग्राम बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन तनहुँ १ का सांसद डा. स्वर्णिम वाग्लेले गरेका थिए ।
सो अवसरमा उनले बन्दीपुर केबलकार परियोजना नयाँ पुस्ताको लागि अवलोकन अध्ययन गर्ने राम्रो ठाउँको रुपमा विकास भएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर चुमान, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, बन्दीपुर पर्यटन वर्ष २०२५ का संयोजक वैश बहादुर गुरुङ, आरकेडी समूहका संचालक किरण पोख्रेलले मन्तव्य राखेका थिए ।
साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धि प्रस्ताव र विशेष प्रस्तावको रुपमा प्रबन्धपत्र तथा नियमावली संशोधन, प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ सम्बन्धि अध्यावधिक प्रस्ताव, रजिस्टर्ड कार्यालय परिवर्तन गर्ने प्रस्ताव, संचालकहरुको पारिश्रमिक र बैठक भत्ता सम्बन्धि प्रस्ताव, कम्पनीले गर्ने लगानी सम्बन्धि प्रस्ताव र कम्पनीको स्थिर सम्पत्ति, बिक्रि एवं भाडामा दिने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।